पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिन्धुलीगढी नि घुमेर हेर्दा........।

radionepal

           - बुलु मुकारुङ । 

    ‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तली माई
    कतिमा नि राम्रो दरबार ...मार्‍यो नि मायाले मार्‍यो । 

गीत–गायनले इतिहास, संस्कृति, परम्पराका साथै भूगोलको पनि उजागर गर्दछ । कुनै गायकले लमजुङ दरबारको गीत गाए । कुनै गायकले इलाम र चियाबारीको गीत गाए । त कुनै गायकले डोटी–डडेलधुराको । जहाँ जसले जसरी गीत गाए पनि स्थान विशेष गरेर गाएका गीतहरू प्रायः चर्चित नै भए । खोला–खोल्सा वा नदी–नाला, अथवा गढी–किल्लाका प्रसस्ती गीतहरू लोकप्रिय नै भए । कुनै समय धरहराको गीत पनि उत्तिकै चर्चित थियो । नेपालको धरहरा............।  आज म सिन्धुलीगढीको गीतसँग छु । गायक कृष्णविक्रम थापाको कालजयी सिर्जनासँग आरोहित हुँदैछु । 

यात्रा, भ्रमण र अवलोकन–लेखन मेरो शौख (ज्यददथ) हो । हिजोआज नेपाली साहित्यिक वृत्तले नियात्रा भन्ने गर्दछ । यात्रा निबन्धकै कुरा गर्ने हो भने ह्युवन चाँङको नेपाल यात्राले नेपालको इतिहास समयकाल बोल्यो । इकाइ कावागुचीको नेपाल यात्राले पनि इतिहास र संस्कृतिलाई उचाल्यो । जंगबहादुरको बेलायत यात्राले तत्कालीन समयको वैदेशिक नीति–सम्बन्ध, यात्राको दारुण हिम्मत उराल्यो । यात्रा नियात्रा भएर लेखिए । इतिहासको उत्खनन् भयो । आधुनिक निबन्ध साहित्य फ्रान्सेली निबन्धकार मोन्तेनसँग जोडिन्छ । सन् १५९७ पछि मात्र फ्रन्सिस बेकनको कुरा उठ्छ । ती बेलायती थिए । आफ्नै भूमि भूगोल घुमेर यात्रा लेख्ने देशी, विदेशी नियात्राकार थुप्रै छन् । यसक्रममा भूगोल र वनस्पतिलाई लिएर लेख्ने डा.हर्क गुरुङलाई म स्मरण गर्न चाहन्छु ।  

छत्तीस सालमा यो गीत रेडियो नेपालको लोकगीत प्रतियोगितामा प्रथम हुन सफल भयो । चर्चित तथा यिनेगिनेका लोकगायकले बल्ड्याङ खाए । र सिन्धुलीका सुदूर गाउँबाट आएका कृष्णविक्रम थापाले बाजी मारे । उनी ठेट गायक थिए । उनको आनीबानी पनि ठेट र मौलिक नै थियो । जुन गीतले गर्दा सम्पूर्ण सिन्धुली जिल्लाको ऐतिहासिकता उराहा लाग्यो । गाउँले कृष्णविक्रम थापा एकाएक चर्चित अनि लोकप्रिय गायक बने । उनको चर्चा मात्र गाउँमा सिमित रहेन । शहर–शहर, डहर–डहर अनि प्रहर–प्रहरमा गुञ्जियो । पाखा–पहराले सुन्यो । कुना–कन्दराले चिन्यो गायक कृष्णविक्रम थापालाई । उनी सिन्धुलीका सच्चा सुपुत्र ठहरिए । नेपाली जनमनको आदरणीय गायक बने । 

लगभग चालीस वर्ष हुन लाग्यो यो गीत चर्चाको शिखरमा रहेको । यसै पनि गढीहरूका कुरा उठ्दा मैले भ्रमण–अवलोकन गरेका हतुवागढी, चौडन्डीगढी, मकवानपुरगढी, सिन्धुलीगढी, अमरगढी र पारि भारतको उत्तराखण्डमा रहेको पिथौरागढीको कुरा सर्सती मनमा आइहाल्छ । सन् १७९१ मा पिथौरागढ गोर्खालीद्वारा बनाइएको लिखितम् अभिलेख आज पनि देखिन्छ । सिन्धुलीगढीमा आजभन्दा २५० वर्षअघि इष्टइन्डिया कम्पनीका सबल फौजसँग ठूलो युद्ध भएको थियो । गोर्खाली सेनाले युद्धमा सजिलै परास्त गरेपछि यस गढीको अझै सुनाम फैलिएको थियो । २५० वर्ष पुगेको सुअवसरमा यही कात्तिक २४ गते यस गढीको विशेष उद्घाटन सम्माननीय राष्ट्रपतिका करकमलबाट हुने कुरा नेपाली सेनाका क्याप्टेन डी.बी.थापाले मलाई बताए । यसैगरी पुरातत्व विभागले यस गढीको जिर्णोद्वार (च्भलयखबतष्यल) गर्ने भएको कुरा पनि क्याप्टेन थापाले बताए । यस खुशखबरीले म दंग नै परेँ । 

सिन्धुलीगढीसँगको साइनो सिकञ्जा जोड्नु अघि म मेरा मुसाफिर जिन्दगी अर्थात् यात्रा–यायावरीबारे पनि लेख्छु । अब घुम्न बाँकी चार जिल्ला मात्र रहेको छ । ती हुन् हुम्ला, डोल्पा, मनाङ र रसुवा । रसुवाको केरुङ पुगेपछि रसुवागढी नहेर्ने कुरै आउँदैन । गढी घुम्ने रहर अनि लहडले मलाई निक्कै अघि नै झाँक्री आङमा चढेको भए तापनि छटको बिदालाई मात्र उपयोग गर्न सकेँ । सिन्धुलीगढीको बयान बोकेको लोकलयले पनि उत्तिकै उखरमाउलो तुल्याएको थियो उहिले नै मलाई । समकालीन गायकले पनि यो लोकगीत गाउने गरेका छन् । तर ती सिन्धुलीगढी घुम्न पुगे पुगेनन् थाहा छैन । म भने कात्तिक १० गते दिउँसो चार बजे पुगेँ । 

कोटेश्वरबाट जिप, भ्यान, हाइस वा बस सिन्धुलीगढी तथा बर्दीबास हुँदै पूर्व धरान, विराटनगर, झापा आदि स्थान जाने गर्छ । म पनि कोटेश्वरबाट हाइसको मात्र ६ सय रुपियाँ भाडा तिरेर बनेपा, भकुण्डेबेसी, नेपालथोक, खुर्कोट हुँदै खनियाखर्क–गोला पुगेँ । जहाँबाट ऐतिहासिक सिन्धुलीगढी नजिकै रैछ । हाइवेमा ऐतिहासिक सिन्धुलीगढी प्रवेशद्वार लेखिएको स्वागतद्वार पनि छ । छेउछाउमा सानातिना चिया–खाजा पसलका साथै जुनार बिक्री नाङले पसल पनि छन् । खाने–बस्ने होटल खनियाखर्क तीन किलोमिटर वरै छ । यात्राका लागि बहान नपाइने कुरै छैन । चौबीस घण्टै बस तथा साना जिप–भ्यान आइरहन्छ । 

उत्साहित हुँदै म गढीतर्फ प्रविष्ट भएँ । बाक्लो र हरियो जंगलबीच मान्छेका लागि खुड्किला र गाडीका लागि सडक रैछ । जंगल सुरु भएपछि झ्याँउकिरीको झरिलो सँगिनीगान सुन्दा मनै आनन्दित भयो । र म आफ्नो पूर्वातीत संझनामा पुगेँ । अर्थात् म आफ्नो गाउँ भोजपुरको टेम्के नै पुगेँ । गुराँस, उत्तिस, चिलाउने, पात्ले, खनिउ आदि अनेकन् वनस्पति बाक्लै देखियो । फूल–फलेदोमा पनि धेरै प्रकारका फूलहरू फुलिरहेका थिए । यो कात्तिक महिनामा पुल्ने कतिपय फूल पछि चैत–वैशाखमा फुल्दैनन् । यो मलाई थाहा छ । अहिले फुल्ने बुकी पनि वसन्त ऋतुमा देखिँदैन । यस यामका फूलहरू अर्को याममा फुल्दैनन् सबैलाई थाहा छ । त्यही भएर यही याममा यात्रा गर्दा गोलकाँक्री खान पाइन्छ । गुणकेसरी, बुकी, द्वारेफूलका साथै विभिन्न जातका फूल फुलेको हेर्ने र त्यसको आश्वादन–अवलोकन गर्ने समय पनि हो । 

जातिजाति उकालो चढ्दै गयो उतिउति प्रकृतिको स्वरूप फेरिँदो देखिन्छ । पर्यावरणले पनि उत्तिकै फेरबदल गर्छ । कोकले चराको प्रेमिल गीत, जुरेलीको डालीनाच र झ्याँउकिरीको सँगिनी सङ्गीत सुनेपछि फाकेको चेरी–लेकाली ऐंसेलु नखाइ मन मान्दैन । यहाँ त प्रेमिकाको मातिलो आग्रह पनि फिक्का फिक्का लाग्ने रैछ । ऐंसेलु, गोलकाँक्री, पानी अमला नफल्ने भए प्रकृतिको अथाह रचना–सिर्जनासँग सर्जक–मन कहाँ थामिल्थ्यो र । घरिघरि आउने–जाने भुँइ कुहिरोसँग म कति हो कति लुकामारी खेलेँ नि हो । यस्तो खेल त मैले बालापनमा समकालीनसँग पनि खेलेको थिइनँ । उन्मुक्ति त डम्म लागेको हुस्सुभित्र हुँदो रैछ । 

दुई सय वर्ष अघिको युद्ध जित्ने तोप राज्यले पुरानो भयो भनेर बेच्यो रे । दरबार खण्डर जस्तो छ । तर पानी जम्मा गर्ने माटैको रिर्जभ ट्याङकले ऐतिहासिकता ओकली रहेको छ । ढुंगे पर्खाल र खुड्किलाहरू प्राचीन हुन् बोलिरहेकै छन् । गढीको शिर भागमा नेपालको झण्डा ताजै फर्फराइ रहेको छ । जो देखेर छाती गौरवले फुल्छ, गम्म बड्छ पनि । नेपाली हुनुको अनि वीर गोर्खाली हुनुको गौरवमय इतिहास सिन्धुलीगढीले दिलाइ रहेको छ । 

गढीभन्दा अलिक तल वनभोज क्षेत्रमा आधुनिक सङ्गीत गुञ्जिरहेको सुनियो । नाचगान हुँदैछ त्यसै थाहा भयो । ५०–६० जना विद्यार्थी आए । चार जना जति शिक्षक पनि थिए । ती तनहुँबाट शैक्षिक भ्रमणमा आएका रैछन् । मी माध्यमिक विद्यालय, म्याग्दे गाउँपालिका–४, थर्पुको स्कुल रैछ । गढीको शोभाका निम्ति वीर गोर्खालीका पुराना परिधान सहितको फ्लेक्स तस्वीर होर्डिङ बोर्डले पनि इतिहासलाई उजागर गरिरहेको देखियो । ती विद्यार्थीहरूले खुबै रमाइलो मानेर सेल्फी हाने । 

यहाँको सानोगढी र ठूलो गढीका बारेमा ती विद्यार्थीहरूले यथेष्ट ज्ञान आर्जन गरे भन्ने मैले ठानेँ । समुन्द्र सतहबाट १५२० मिटर उचाइमा रहेको यो गढी मकवानपुरका सेन राजाकै पालामा निमार्ण गरिएको भन्ने कुरा बोर्डमा लेखिएको पाइन्छ । गढीको वरिपरि ११ वटा प्वालहरू छन् । जसबाट शत्रूको निगरानी तथा गोली प्रहार गर्न सकिन्छ । डडेलधुरामा भएको अमरगढी वा उत्तराखण्डमा रहेको पिथौरागढ एकै किसिमको बनावटमा छ भने मकवानपुरगढी भन्दा पनि चौडन्डीगढी, हतुवागढी दुरुह अवस्थामा छन् । जसलाई पुरातत्व विभागले संरक्षणको योजनामा राखिदिए यो यात्री–मन धन्य हुने थियो । प्रसिद्ध गायक कृष्णविक्रम थापा र उनले गाएको गीलले पनि सार्थकता प्राप्त गर्ने थियो ।