पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विश्व बसोबास दिवस मनाइयो

काठमाडौं । विश्व बसोबास दिवस एवं विश्व सहरी योजना दिवस आज विश्वभर मनाइएको छ । 

विश्व बसोबास दिवसको यस वर्षको नेपाली नारा आवास नीतिको प्रयासः गच्छे अनुसारका सुरक्षित बास भन्ने रहेको छ भने विश्व सहरी योजना दिवसको यो वर्षको नारा संघीय नेपालामा सहरी योजना भन्ने रहेको छ ।

संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रमले सन् १९८६ देखि प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबारलाई विश्व बसोबास दिवसको रुपमा मनाउने घोषणा गरेअनुरुप यो दिवस विश्वभर मनाइदै आइएको भएपनि अक्टोबर महिनाको पहिलो सोमबार वडा दशैं परेकोले यो दिवस आज मनाइएको सहरी विकास मन्त्रालयले जनाएको छ । 

दिवसको अवसरमा सहरी विकास राज्यमन्त्री कुन्ती शाहीले भौतिक, सरकारी एवं निजी संरचनाहरुको निर्माण व्यवस्थित र जनहितमा केन्द्रित रहेर गर्नुपर्ने बताउनुभयो । 

योजना आयोगका पूर्व उपाध्यक्ष चन्द्र पोखरेलले आधूनिक र व्यवस्थित सहर निर्माणका लागि हरेक स्थानीय तहमा सहरी विकाससम्बन्धी बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

सहरी विकास मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्माले मन्त्रालयले ल्याएको जनता आवास, ज्येष्ठ नागरिक र कर्मचारी आवास जस्ता कार्यक्रमको कार्यान्वयनका लागि सरकारले हरेक स्थानीय तहमा दक्ष जनशक्ति परिचालन गर्न सकेमात्र व्यवस्थित सहरको निर्माण हुनसक्ने बताउनुभयो ।