पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

३ महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनामा छुट्याइएको बजेटमध्ये ३ महिना सकिनलाग्दा ६.११ प्रतिशत मात्र खर्च भएको छ । 

व्यवस्थापिका–संसद्को विकास समितिले आयोजना गरेको राष्ट्रिय गौरवका आयोजनालगायत मन्त्रालयगत आयोजनाको प्रगतिको अवस्थासम्बन्धी छलफल कार्यक्रममा अर्थ मन्त्रालय बजेट महाशाखा प्रमुख केवलप्रसाद भण्डारीले यो आर्थिक वर्षमा रु ६३ अर्ब ७० करोड बजेटमध्ये असोज २५ गतेसम्म रु ३ अर्ब ८८ करोड अर्थात ६.११ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । 

राष्ट्रिय गौरवका आयोजनामध्ये ५ वटा आयोजनाको प्रगति शून्य रहेको मन्त्रालयले जनाएको छ । आयोजनामा आएका समस्या समाधानका लागि मुख्य सचिवको संयोजकत्वमा समिति गठन गरिए पनि त्यसले प्रभावकारी रुपमा काम गर्न सकेको छैन । 

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको निर्माण समयमा नै बजेट उपलब्ध हुन नसकेका कारणबाट प्रभावित हुने गरेकाले यस्ता आयोजनाको बजेट नरोक्न, आवश्यकताबमोजिम तत्काल बजेट उपलब्ध गराउन समितिले अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । 

संघीय प्रणालीमा राष्ट्रिय योजना आयोगको संरचना कस्तो हुने, यसको विद्यमान संरचनामा परिवर्तन गर्ने तथा कार्यक्षेत्र एवं क्षेत्राधिकारमा सुधार र परिमार्जन गर्ने सम्बन्धमा छिटो निष्कर्षमा पुग्न समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आयोगलाई निर्देशन दिएको छ ।