पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उत्पादन गुणस्तरीय बनाएर मात्र बजारीकरण गर्नुपर्छः मन्त्री विश्वकर्मा

काठमाडौं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई गुणस्तरीय र प्रतिष्पर्धी बनाएर मात्र बजारीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग बुधवार मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले घरेलु तथा साना उद्योगको विकास र उत्पादनहरूको बजारीकरणका लागि सरकारले उच्च प्राथमिकताका दिएर कार्य गरेकोे प्रष्ट पार्नुभयो ।

घरेलु उत्पादनलाई उच्चगुणस्तरीय बनाउन सक्ने हो भने अन्तराष्ट्रिय बजारमा नेपाली उत्पादन प्रतिस्पर्धी भई चुलिँदै गएको व्यापार घाटा कम गर्न सकिने पनि मन्त्री विश्वकर्माले बताउनुभयो ।

वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले लघु तथा घरेलु उद्यमीलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता औंल्याउँदै लघु उद्योगको विकास गर्न सकेमा मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु घरेलु तथा साना उद्योगहरु नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको र ३ लाख २० हजार उद्योगमध्ये अहिले घटेर १ लाख ९५ हजार उद्योगहरू मात्र सञ्चालनमा रहेको जानकारी दिनुभयो ।