पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुक्तिनाथ क्षेत्रमा अत्याधुनिक रिसोर्ट सञ्चालन हुने

मुस्ताङ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रमा धार्मिक पर्यटकलाई लक्षित गरी १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट सञ्चालन हुने भएको छ । 

गैरआवासीय नेपाली संघ (एनआरएन) का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणाधीन उक्त रिसोर्ट अबको एक वर्षभित्र सञ्चालनमा आउने गरी निर्माण कार्य जारी रहेको लामाले जानकारी दिनुभयो ।

स्थानीयबासीसँग करिब ८० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर शुरु गरेको सो रिसोर्टको पहिलो चरणको काम ८० प्रतिशत सकिएको जनाइएको छ । 

रिसोर्टमा पहिलो चरणमा  १० करोड र दोश्रो चरणमा थप ७ करोड लगानी हुनेछ । मुक्तिनाथमा आन्तरिकसँगै भारतीय र तेश्रो मुलुकका पर्यटक उल्लेख्य संख्यामा आउन थालेकाले त्यसैलाई मध्यनजर गरेर लामाले रिसोर्ट सञ्चालनमा ल्याउन लाग्नुभएको हो ।