पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वातावरण मन्त्री चौधरी इथियोपिया प्रस्थान

 

काठमाडौँ, १८ असोज । जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरी इथियोपियाको अडिस अवावामा हुन गइरहेको जलवायु परिवर्तनबाट प्रभावित अति कम विकसित राष्ट्रहरुको समूह (एलडिसी)का वातावरणमन्त्रीहरुको बैठकमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

आगामी मंसिरमा जर्मनीको बोनमा हुन लागेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको २३औँ सम्मेलनमा एलडिसीका तर्फबाट राखिने साझा विषय तय गर्न सो बैठक आयोजना गरिएको हो । 

बैठकमा जलवायु परिवर्तनबाट एलडिसी राष्ट्रहरुले भोग्नु परेको समस्या, जलवायु न्याय तथा दिगो विकास लक्ष्यलगायतका विषयमा छलफल हुने मन्त्री चौधरीले जानकारी दिनुभयो । 

उहाँले बैठकमा नेपालले जलवायु परिवर्तनलाई सिर्जित समस्याका बारेमा स्पष्ट धारणा राख्ने बताउनुभयो । 

सम्मेलन बिहीबार र शुक्रबार दुई दिन चल्नेछ । एलडिसीमा नेपालसहित ४७ वटा मुलुक आबद्ध रहेका छन् । केही वर्षदेखि एलडिसी राष्ट्रहरुले विश्वको तापक्रम १.५ डिग्री सेल्सियस बढ्नबाट रोक्नुपर्ने आवाज उठाउँदै आएका छन् ।