पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालका लोकप्रिय प्रसारक एवम् गायक बासुदेव मुनालको निधन

radionepal

काठमाडौं । रेडियो नेपालबाट प्रशारण हुने चर्चित बालकार्यक्रम प्रस्तोता बासुदेव मुनाल अब हाम्रो माझ स्मृतिमा मात्र रहनुहुने भएको छ । सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रमका प्रस्तोता एवम् चर्चित लोक गायकसमेत रहनु भएका बासुदेव मुनालको निधन भएको छ । घाँटीको क्यान्सरले बिरामी पर्नुभएका बासुदेव मुनाल विगत केही समयदेखि उपचाररत हुनुहन्थ्यो । उहाँको उपचारकै क्रममा भक्तपुर क्यान्सर अस्पतालमा बिहीबार बेलुका निधन भएको हो । 

रेडियो नेपालबाट हरेक दिन साँझ साँढे पाँच बज्ने बाल कार्यक्रममा प्यारा दाजुका रुपमा रहनुभएका बासुदेव मुनालले कार्यक्रममार्फत ‘आओ मेरा प्यारा भाइबैनी हो, रेडियो नजिक आओ ।’ भन्दा धेरै बालबालिकाहरु कार्यक्रम सुन्न निक्कै लालयित हुन्थे । बासुदेव मुनालका ‘भए पनि ठीकै, नभए पनि ठीकै, पानी खाने निउंले तिम्रो घरमा आउँला, लालुपाते फुलेर लाल भयो, बाँसुरीको धुनमा मादलुको तालमा, झम झम इष्टकोट जस्ता थुप्रै गीतहरु चर्चित छन् ।

पारिवारिक श्रोतका अनुसार ११ वर्षअघि उहाँको लडेर ब्रेन ह्याम्ब्रेज समेत भएको थियो । विराटनगरमा बि.सं. २००६ सालमा जन्मिनु भएका मुनालले रेडियो नेपालमा ४ दशक बिताउनुभएको थियो ।  उहाँ २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त हुनुभएको थियो ।