पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रियता खण्डित हुन काँग्रेसले दिँदैनः प्रधानमन्त्री देउवा

धनुषा, २८ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तराई–मधेश, पहाड तथा हिमालबीचको एकतालाई राष्ट्रियताको नाउँमा खण्डित गराउने प्रयास नेपाली काँग्रेसले कुनै हालतमा पूरा हुन नदिने बताउनुभएको छ । 

जनकपुरधाममा आज गरेको चुनावी सभालाई सम्वोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले २ तिहाई बहुमत पुर्याएर संविधान संशोधन गरी मधेशी जनताको भावना समेट्न काँग्रेसले पुनः प्रयास गर्ने बताउनुभयो । 

प्रधानमन्त्रीले समग्र देशलाई एकताको सूत्रमा जोड्ने तथा सबैको भावनाको कदर काँग्रेसले मात्र गर्न सक्ने  वताउनुभयो ।

प्रधानमन्त्री देउवाले आफ्नो हालै भएको भारत भ्रमणको क्रममा वर्षेनी रुपमा हुने गरेको मधेश क्षेत्रको डुबानको विषयमा भारतका प्रधानमन्त्री तथा विहारका मुख्य मन्त्रीसँग कुराकानी भएको र भारत उच्च स्तरको संयुक्त प्राविधिक समिति बनाएर समस्याको दीर्घकालीन समाधान गर्न सहमत भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाले  बाढीको समस्याको समाधान तथा तराई मधेशका जनताको भावनाको कदर गर्न सरकारले चाँडै उच्च स्तरीय बाढी पीडित पुनःस्र्थापना प्राधिकरण गठन गर्ने सोच बनाएको बताउनुभयो ।

चुनावी सभामा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत तथा समृद्धिको बाटोमा अग्रसर गराउने पार्टी काँग्रेस मात्र भएको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले केही कम्युनिष्टहरुले संघीयतालाई भित्रबाट स्वीकार नगरेको र संघीय प्रणालीको विरोध गरेर मुलुकमा पुन निरंकुश शासन व्यवस्था ल्याउन खोजेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले मधेशलाई अधिकार सम्पन्न र समृद्ध बनाउनक नेपाली काँग्रेसको विकल्प नभएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता  विमलेन्द्र निधिले देशमा शान्ति, विकास तथा समृद्धिका लागि काँग्रेसको विकल्प नभएको र काँग्रेसले मधेशको विकासका लागि थुप्रै योजनाहरु ल्याएको बताउनुभयो ।

कार्यक्रममा काँग्रेसका केन्द्रीय कोषाध्यक्ष सीता देवी यादव, नेता कृष्णप्रसाद सिटौला, धनुषाका सभापति रामसरोज यादव लगायतले देशमा राजनीतिक स्थिरता तथा विकासका लागि काँग्रेसको विकल्प नभएको बताउनुभयो ।