पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मतदाता परिचयपत्र भदौ ३० बाट दिइने

काठमाडौं, २७ भदौ । निर्वाचन आयोगले तेश्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि यही भदौ ३० देखि आगामी असोज १ गतेसम्म मतदाता परिचय वितरण गर्ने भएको छ ।
  
प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा यही असोज २ गते सोमबार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ७ सय ९२ मतदाता छन् । 

आयोगले सदर मत प्रतिशत बढाउन तथा बदर मत संख्या घटाउन मतदातालाई सही रूपमा मत संकेत कसरी गर्ने भन्ने विषयमा जानकारी दिने व्यवस्था पनि मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । 

निर्वाचन शिक्षालाई व्यापक तुल्याउन २ नं प्रदेशमा निर्वाचन शिक्षाका लागि ३ हजार ५ सयभन्दा बढी मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेविका परिचालन गरिएको छ । 

स्थानीय सञ्चार माध्यमबाट स्थानीय भाषामा मतदाता शिक्षा प्रदान गर्ने काम भइरहेको आयोगले जनाएको छ । 

आयोगले असोज २ गते हुने निर्वाचनलाई दृष्टिगत गरी १ हजारभन्दा बढी स्थानमा नमुना मतदानको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।