पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विभिन्न दलका नेताहरूसँग आयोगद्वारा स्पष्टीकरण माग

काठमाडौं, २८ भदौ । निर्वाचन आयोगले पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले यही भदौ २५ गते धनुषामा नेपाली काँग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा नेपाली काँग्रेसको निर्वाचन चिन्ह अङ्कित गम्छा लगाई सहभागी भएर निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा आयोग समक्ष स्पष्टीकरण पेश गर्न नेता निधिलाई निर्देशन दिएको छ ।

यसैगरी, सिरहाको धनगढी नगरपालिकाको जिरो माइलमा आयोजित नेपाली कांग्रेसको चुनावी सभामा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गर्न बालबालिकाको प्रयोग गरिएको विषय निर्वाचन आचार संहिता विपरीतको कार्य भएको देखिएकाले त्यस सम्बन्धमा नेपाली काँग्रेस सिरहा जिल्ला सभापतिलाई आयोग समक्ष स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको आयोगबाट आज जारी प्रेस–विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी, निर्वाचन आयोगले धनुषाको मिथिला नगरपालिका लालगढमा यही भदौ २७ गते नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले निकालेको संयुक्त चुनावी र्यालीमा दलका झण्डा बोकेर बालबालिकालाई प्रचार प्रसारमा खटाइएको विषय निर्वाचन आचार संहिता विपरीत भएकाले संयुक्त चुनावी र्यालीका आयोजक नेपाली काँग्रेस धनुषाका जिल्ला सभापति र नेकपा माओवादी केन्द्र धनुषा जिल्ला इन्चार्जलाई आयोग समक्ष स्पष्टीकरण पेश गर्न बेग्ला बेग्लै निर्देशन दिएको छ ।