पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खानेपानी योजना निर्माण गर्न दैनिक आठघण्टा श्रमदान

सिन्धुली, २८ भदौ । साविकको सिन्धुलीको भद्रकाली गाविस–५, बुक्ति खट्टारका स्थानीयबासी खानेपानीको योजना सम्पन्न गराउन श्रमदान गरिरहेका छन् । गाउँमा दीर्घकालीन खानेपानीको मुहान र पानीको पहुँच नहँुदा अब ‘एक घर एक धारा’ पाइने भएपछि स्थानीय उत्साहपूर्वक खानेपानीको योजनामा श्रमदान गरिरहेका छन् । गाउँघरमा अहिले युवाशक्ति कम भएको त प्रायः सबैलाई नै थाहा छ । सदैव पानीको समस्यामा रहेका त्यस क्षेत्रका महिला पनि अहिले पुरुषसरह दैनिक आठघण्टा श्रमदान गरिरहेका छन् । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको आर्थिक सहयोग र ग्रामीण विकास समाज सिन्धुलीको आयोजनामा खट्टार खानेपानी तथा सरसफाइ योजना निर्माण गर्न स्थानीयको उल्लेख्य सहभागिता रहेको छ । 

गाउँघरमा बिहान बेलुका घरधन्दा र दिउँसोभर खानेपानीको योजना निर्माणको निर्माण चरणमा पाइप लाइन खन्ने, पुर्ने, स्थानीय सामग्री संकलन गर्ने, गैरस्थानीय सामग्री निर्माणस्थलसम्म पु¥याउन व्यस्त रहेका छन् । अब केही महिनामा नै घरमा सफा पानी घरकै धाराबाट थापेर खान पाउने हुँदा आफूहरु पनि योजना निर्माणमा लागेको स्थानीय तथा खट्टार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य समेत रहनुभएका संगीता बम्जनले बताउनुभयो । महाभारतको काखमा रहेर विगतमा खानेपानीको समस्या हुँदा आफूहरुलाई खानेपानीको जोहो गर्न हिउँद् होस् या वर्षा सधैँ समस्या थियो, नेपाल सरकारले ‘एकघर एक पानीको धारा’ बनाइदिने रेडियोमा सुनेका थियौँ, उहाँले भन्नुभयो, ‘अब त आफ्नै घरमा धाराबाट पानी पिउने दिन आएको छ ।’ अब खट्टारका महिला दिदीबहिनी खोला र कुवाबाट पानी बोक्ने झन्झटबाट मुक्ति पाउने छन् भने समयको समेत बचत हुने उहाँ बताउनुहुन्छ । गर्मीयाममा काकाकुलजस्तै बन्ने गरेकोमा अहिले धारामा पानी थापेर खान पाउने आशामा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म श्रमदान गरिरहेको स्थानीय दिलबहादुर गोलेले बताउनुभयो । 

खानेपानी योजना सम्पन्न गर्न पुरुषसरह महिला पनि श्रमदानमा लागि परेको उहाँको भनाइ छ । खानेपानी योजना सम्पन्न गराउन बालुवा बोक्ने, ढुंगा बोक्ने, गिट्टी बोक्ने, सिमेन्ट र अन्य आवश्यक सामान बोक्न पनि महिला सक्रिय रहेका छन् । खानेपानी योजनाको सुरुवाती चरणदेखि नै स्थानीयले राम्रो साथ दिएको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर गोलेले बताउनुभयो । समुदायका व्यक्ति पानीको समस्यामा रहेको र पानीको मुहान बनाई घरघरमा धारा बनाउने संस्था गाउँमा आएको सुन्ने बित्तिकै स्थानीय खानेपानीको योजना चाँडै सम्पन्न गराउने योजनामा रहेको उहाँ बताउनुहुन्छ । रासस