पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाढीले निकुञ्जको पर्या–प्रणालीमा प्रभाव पर्दा वन्यजन्तु खतरामा

 

चितवन, २६ भदौ । साउनको अन्तिम साता आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जको पर्या–पर्यावरणम खल्बलिएपछि वन्यजन्तु प्रभावित बनेका छन् । बाढीले घाँसे मैदान हिलाम्मे छ भने एक ठाउँका वन्यजन्तु बाढीले अन्यत्र पु¥याएको छ । कतिपय आहार प्रजातिका जनाव मरेपछि मांसहारी जनावरलाई पनि आहारको अभाव भएको छ । आहार नपाएपछि वन्यजन्तुहरु मानव बस्तीमा पस्न थालेका छन् । 

निकुञ्जको कूल क्षेत्रफलको करिब १२ प्रतिशत जमिन घाँसे मैदान छ । पानीका स्रोतसँगै घाँसे मैदान व्यवस्थापन गर्ने गरिन्छ । त्यसैले नदी, खोला खोल्सा नजिक घाँसे मैदान रहेका छन् । निकुञ्ज हुँदै बग्ने ठूलो राप्ती नदीमा बाढी आएपछि चुरे पहाडबाट निकुञ्ज हुँदै राप्तीमा मिसिने खहरे खोला खोल्साहरुमा लेदोसहितको बाढीले घाँसे मैदान पुरेपछि समस्या उत्पन्न भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । 

कँडेलका अनुसार अधिकांशजसो घाँसे मैदान हिलाम्मे छन् भने कतिपय बाढीले पुरिएको अवस्थामा छन् । जसका कारण घाँसमा आश्रित दुर्लभ एकसिंगे गैँडा, हात्ती, चित्तल, लघुना, रतुवाजस्ता जनावर प्रभावित बनेका छन् । कतिपय जनावर बाढीले एकठाउँबाट अर्काे ठाउँमा पु¥याएकाले के खाने र कहाँ जाने अन्योलमै भौँतारिइरहेको कँडेल बताउनुहुन्छ । 

निकुञ्जभित्र आहार नपाएपछि घाँसमा आश्रित जनावर बथानमै बस्ती प्रवेश गर्ने क्रम पनि शुरु भएको छ । पर्साको ठोरीमा १५ देखि २० वटा हात्ती दुई बथान दिनहुँजसो बस्ती क्षेत्रमा आउने गरेका छन् । यसअघि भाले हात्तीमात्रै एक्लै बस्ती आएर सताउने गरेको भए पनि आहारको खोजीमा बथान नै बस्ती पसेको कँडेलले बताउनुभयो । 

निकुञ्जमा सन् २०१५ को गणनाअनुसार ६०५ वटा गैँडा रहेका छन् । त्यसपछि बर्दियामा आठ र शुक्लाफाँटामा पाँचवटा गैँडा स्थानान्तरण गरिएको छ । बाढीका कारण नवलपरासीमा एउटा र चितवनमा एउटा गैँडा मरेका थिए । बाढीकै दबाबले यसै साता अर्काे एउटा गैँडा मरेको छ भने आहार घटेपछि एउटै घाँसे मैदानमा केन्द्रित हुँदा जुधेर अर्काे एक गैँडा मरेको कँडेलले बताउनुभयो । 

यसैगरी पश्चिम चितवनको मेघौलीमा हात्तीले धानबाली खान थालेको छ । यसअघि भण्डारण गरेको धानमात्रै हात्तीले नोक्सान गर्ने गरेको भए पनि वन क्षेत्रमा घाँस अभाव भएपछि धानबाली नै खान थालेको स्थानीयवासी बताउँछन् । 

माडी क्षेत्रमा हात्ती र भालु बस्ती पस्न थालेका छन् भने बाघका पाइलाहरु बस्ती क्षेत्रमा देखिएको स्थानीयवासीले बताएका छन् । बाढीले आहार घटेपछि मांसहारी जनावर पनि संकटमा पर्दै गएका छन् । कँडेल बाढीले चित्तल, लघुना, रतुवा, बँदेलजस्ता जनावर एक हजार २०० हाराहारी मरेको अनुमान गर्नुहुन्छ । जसका कारण मुख्यरुपमा मांसहारी बाघ प्रभावित हुने देखिएको छ । 

सन् २०१३ मा निकुञ्जमा १२० बाघ रहेका थिए । यसपछिका वर्षमा बाघको संख्या निकै बढेको अनुमान गरिँदै आएको छ । आहार घटेपछि बाघ पनि बस्ती पस्न सक्ने त्रास स्थानीयवासीमा छ । 

फोहर घाँस खान थालेपछि वन्यजन्तुको स्वास्थ्यमा असर पर्ने देखिएको छ । बाढीले बगाएर भारत पु¥याएका आठवटा गैँडा निकुञ्ज ल्याइएको छ । ती गैँडा पनि बाढीले बगाउँदा परेको असर, भारत पुगेपछि खान र वासस्थानको अभाव र पुनः उद्धार गर्दाको थकानका कारण अहिले सिथिल अवस्थामा देखिएका छन् । यहाँ ल्याएर पनि उचित आहार नहुँदा उनीहरु धेरै प्रभावित भएको निकुञ्जका पशु चिकित्सक कमल गैरेले बताउनुभयो । 

उहाँका अनुसार दुईदिनअघि मरेको गैँडा बाढीपछिको तनाव र खानेकुराको कारण भएको देखिएको छ । घाँस प्रदूषित भएकाले रोगको संक्रमण फैलिन सक्ने आशंका गरिएको बताउँदै उहाँले फोक्सोमा पानी देखिन सक्ने पनि बताउनुभयो । समयमै घाँसे मैदान व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ छ । निकुञ्जले घाँसे मैदान व्यवस्थापनको काम तत्काल अघि बढाउने जनाएको छ । 

निकुञ्जभित्रका १५ वटा पुल बाढीले बगाएका छन् । पहिलो चरणमा ती पुल सञ्चालनमा ल्याएर घाँसे मैदानको व्यवस्थापनको काम शुरु गर्ने तयारीमा रहेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताउनुभयो । 

सबै घाँसे मैदानको एउटा एउटा ठाउँमा व्यवस्थापनको काम गर्ने तयारी गरिएको छ । बालुवा र हिलोले बिगारेको घाँसलाई काटेर सरसफाइ गर्ने तयारी गरिएको उहाँले बताउनुभयो । केही समयपछि आवश्यक ठाउँमा आगो लगाएर व्यवस्थापनको काम गरिनेछ । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका कृषि, वनस्पति शास्त्र तथा पर्यावरणीय संरक्षण विज्ञानका विभागीय अध्यक्ष उपप्राध्यापक अनन्तप्रकाश सुवेदी समयमै दीर्घकालीन सोच नहुँदा समस्या देखिएको बताउनुहुन्छ । 

घाँसे मैदान व्यवस्थापन गर्दा यसखालको समस्या नआउने गरी गर्न नसकेका कारण अहिले समस्या भोग्नु परेको उहाँको भनाइ छ । समयमै घाँसे मैदान व्यवस्थापन गर्न नसकिए वन्यजन्तु बस्ती प्रवेश गर्ने, कतिपय मर्न सक्ने खतरा रहेको उहाँको भनाइ छ ।