पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मीरा राणाको  ‘म एक जात हराएको मान्छे’ गीत एल्बम सार्वजनिक

radionepal

काठमाडौँ, २६ भाद्र २०७४। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले ‘म एक जात हराएको मान्छे’ नामक गीति एल्बम लोकापर्ण गर्नुभएको छ । 

गायिका मीरा राणाद्वारा स्वर र संगीतबद्ध एल्बमको मन्त्री बस्नेतले लोकापर्ण गर्नुभएको हो । लोकापर्ण गर्दै उहाँले संस्कृतिको जगेर्ना गरेमात्र राष्ट्र बन्ने भन्दै संगीतको संरक्षण र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । 

उहाँले कला क्षेत्र सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनमा भूमिका खेल्ने भन्दै मुलुक र जनतालाई सन्देश दिनुपर्ने बताउनुभयो । 

मन्त्री बस्नेतले संविधान कार्यान्वयन नहोस् भन्नका लागि अहिले पनि केही तत्व निर्वाचन नभइदियोस् र देशमा संक्रमणकाल लम्ब्याउन खोजेको आरोप लगाउनुभयो । 

राजनीतिक संक्रमणकाल लम्बिए देश दुर्घटनातिर जाने भन्दै दलीय र व्यक्तिगत स्वार्थ त्यागेर मुलुकलाई समृद्धितिर लैजानुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा गायिका राणाले गीतले स्रोतको मनमस्तिष्कमा तरङ्ग ल्याउने दाबी गर्नुभयो । 

कार्यक्रममा नायिका भुवन चन्द, संगीतकार दीपक जंगमलगायतले राणाका हरेक गीत मन छुने खालका रहेको बताउनुभयो । 

६ वटा गीत भएको एल्बममा मीरा राणा, अञ्जु पन्त, स्वरुपराज आचार्य, निशा देशार र सविन सुवेदीले गाउनुभएको छ । ६ वटामध्ये ४ वटा गीतमा राणाको स्वर तथा संगीत रहेको छ । 

आश म्युजिक कम्पनीले बजारमा ल्याएको उक्त गीतको शब्द कृष्णबहादुर थापाले गर्नुभएको छ भने अन्य २ गीतका संगीत राजु सिंहले गर्नुभएको छ ।