पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिने

नवलपरासी, २३ भदौ । नेपालमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । 

मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो हावालाई प्रयोग गरेर ४ मेगावाट विद्युत् उत्पादन गर्न लागेको जनाएको छ  । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका पशुपति मुरारकाले नेपालको ऊर्जा क्षेत्रमा नयाँ प्रयोग गर्ने लक्ष्यका साथ पहिलो चरणमा २.५ मेगावाट र दोश्रो चरणमा थप १.५ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी भएको बताउनुभयो ।

४ मेगावाट विद्युत् उत्पादन गर्न उद्योगमा थप  ८० करोड रुपैया लगानी गरिने मुरारकाले जानकारी दिनुभयो । सुधारिएको स्टिम इन्जिन प्रणालीबाट विद्युत् उत्पादन गर्ने प्रणालीको जडानका लागि चीनबाट सामान ल्याउने प्रक्रिया शुरु गरिएको र आगामी ७ महिनाभित्र विद्युत् उत्पादन शुरु गर्ने तयारी उद्योगले गरेको छ । 

नेपालमा हालसम्म यस्तो प्रविधिबाट विद्युत् उत्पादन गरिएको छैन । नेपालमा जगदम्बा, मारुती, शिवम्जस्ता निजी क्षेत्रका ठूला सिमेन्ट उद्योग सञ्चालनमा छन् भने सरकारी स्वामित्वको उदयपुर, हेटौँडा सिमेन्ट सञ्चालनमा छन् । ती उद्योगमा समेत यस्तो प्रणाली जडान गर्न सकिन्छ ।