पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कर्णाली बृहत् साँस्कृतिक उत्सवको आयोजना

काठमाडौँ, २० भदौ । कर्णालीको मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले आज भृकुटीमण्डपमा कर्णाली बृहत् साँस्कृतिक उत्सवको आयोजना गरियो । 

कर्णाली समाज र साँस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा आयोजित उत्सवमा कर्णाली क्षेत्रको परम्परागत संस्कृति झल्कने नृत्य, झाँकी तथा गीत संगीत प्रस्तुत गरिएको थियो । 

उत्सवका क्रममा ‘हुड्के’, ‘दमा’ नाच, देउडा खेल, ‘ठाडी’ भाका तथा कर्णालीको भोट क्षेत्रको प्रख्यात ‘स्याप्रु नाच’ प्रस्तुत गरिएको थियो । कर्णाली अञ्चलका डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालीकोटको साँस्कृतिक पहिचान झल्कने प्रस्तुतिले उपस्थित सर्वसाधारणमा रौनक छाएको थियो । 

त्यस अवसरमा ऊजामन्त्री महेन्द्रबहादुर शाहीले देशलाई समृद्ध बनाउन संस्कृति र प्राकृतिक स्रोतको धनी कर्णालीको विकास अपरिहार्य भएको बताउनुभयो । 

उहाँले विदेश पलायन नभई स्देशमै स्वरोजगारका लागि उत्पादनशील क्षेत्रमा क्रियाशील हुन युवा शक्तिलाई आग्रह गर्नुभयो । 

संस्कृतिविद् सत्यमोहन जोशीले कर्णालीको संस्कृति संरक्षण र प्रवद्र्धनमा सबैको ध्यान जानुपर्ने खाँचो औँल्याउनुभयो । 

कर्णालीको मौलिक संस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनार्थ उत्सव आयोजना गरिएको कर्णाली समाजका उपाध्यक्ष उपेन्द्रजंग शाहीले बताउनुभयो ।