पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

इजिप्टमा रेल दुर्घटनामा परी मृत्यु हुनेको सङख्या ४१ पुग्यो, १५९ घाइते

 

अलेक्जेन्ड्रया (इजिप्ट), २८ साउन । इजिप्टमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको सङख्या शनिबार ४१ पुगेको छ । शुक्रबार राति दुई रेल एकआपसमा जुधेर भएको दुखद घटनामा ४१ जनाको मृत्यु भएको, १२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको र १५९ जना घाइते भएका शनिबार एक विज्ञप्ति जारी गरी इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अस्पतालमा पु¥याइएका ४८ जना उपचारपश्चात घर फर्किसकेका विज्ञप्तिमा बताइएको छ । 

इजिप्टको ब्यस्त मानिने अलेक्जेन्ड्रिया–कायरो रेलमार्गमा भएको दुर्घटनापछि सुरक्षा अधिकारीहरूले रेलमार्गलाई पूर्णतया रोकेर उद्दारको काम अघि बढाइरहेका छन् । 

काएरोबाट अलेक्जेन्ड्रिया तर्फ हिँडेको एक रेल पोर्टसेडबाट आएको रेलसँग ठक्कर खाँदा भएको दुर्घटनाबारे अनुसन्धान शुरु भएको छ । 

दुई रेलमध्ये एउटाको इन्जिनले काम नगरेपछि लिकमा रोकिएका बेला अर्को रेल आई ठक्कर दिँदा सो दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । 

इजिप्टका राष्ट्रपति अब्देल फतेह अलसीसीले दुर्घटनाप्रति दुखः व्यक्त गर्दै मृतकका आफन्तलाई समवेदना व्यक्त गर्नुभएको छ । उहाँले घटनाको छानविन गर्दै यसका दोषीलाई कानूनी दायरामा ल्याउनसमेत भन्नुभएको छ ।