पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाः राष्ट्रिय पार्टीको दोस्रो महाधिवेशन सुरु

 

काठमाडौँ, २८ साउन । नेपाः राष्ट्रिय पार्टीको दोस्रो महाधिवेशन आज यहाँ सुरु भएको छ । विसं २०६४ माघ ३० गते स्थापना भएको सो पार्टीले ‘जनताको राष्ट्रवाद’ लाई आदर्श मानेको छ । परिमार्जित संविधानको माग गर्दै आएको पार्टीले स्थानीय तहको निर्वाचनमा सहभागी नभएको भए पनि प्रादेशिक र केन्द्रीय चुनावमा सहभागिता जनाउने भएको छ । 

पार्टीमा ५१ केन्द्रीय सदस्य तथा १३ पदाधिकारीको व्यवस्था भए पनि नयाँ नेतृत्व चयन गर्ने उक्त अधिवेशनमा ४१ केन्द्रीय सदस्य निर्वाचित गरिने छ । १० केन्द्रीय सदस्य तथा पदाधिकारी पछि छनोट गरिनेछ । 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले अधिवेशनको उद्घाटन गर्दै पार्टीका गतिविधिलाई काठमाडौँ उपत्यका (नेपाल मण्डल) मा मात्र सीमित नगरी देशभर संगठन सुदृढ गरेर राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल मण्डलभित्रका प्राचीन महत्वका सम्पदा तथा नेवारी संस्कृति, सभ्यताको संरक्षणका लागि पार्टीले विशेष अभियान गर्नुपर्नेमा जोड दिनुभयो । 

वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठ, ज्यापु महागुठका अध्यक्ष राजभाई जकमी, डा महेशमान श्रेष्ठलगायतले अधिवेशनको सफलताको शुभकामना दिँदै जनताको विकास तथा राष्ट्रको समृद्धिबाट ‘जनताको राष्ट्रवाद’लाई स्थापित गर्न सकिने विचार व्यक्त गर्नुभयो । 

पार्टीका कावा अध्यक्ष सुवर्णकेशरी चित्रकार, पार्टी महासचिव डा विजय सैजुलगायतले आगामी दिनमा विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रम गरी पार्टीलाई देशव्यापी रुपमा सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । विधान संशोधन, राजनीतिक कार्यपत्र, भावी कार्ययोजनमा छलफल गरी अनुमोदन भएपछि नयाँ नेतृत्वको निर्वाचन गरिनेछ ।