पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकार सञ्चारको विकास गर्न प्रतिबद्ध : मन्त्री बस्नेत

 

काठमाडौँ, २८ साउन । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान सरकार सञ्चारको विकास गर्न प्रतिबद्ध भएको बताउनुभएको छ । 

दिशानिर्देश प्रेस क्लबले आज आयोजना गरेको ‘माघ ७ भित्र तीनै तहको निर्वाचन र संविधान पूर्ण कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उहाँले सञ्चार क्षेत्रलाई संकुचित गरेर लोकतन्त्रको संस्थागत विकास हँुदैन भन्ने कुरामा सरकारको विश्वास रहेको चर्चा गर्नुभयो । 

मन्त्री बस्नेतले सञ्चारमैत्री वातावरण तयार पार्न सरकारले मध्यकालीन तथा अल्पकालीन योजना बनाएर अघि बढ्ने तयारी गरिरहेको बताउनुभयो । 

विभिन्न राजनीतिक शक्तिबीचको सहमतिको दस्तावेज संविधानलाई प्रदेश र केन्द्रको निर्वाचन गरी कार्यान्वयन गर्न सरकार प्रतिबद्ध भएको उल्लेख गर्नुभयो । 

नेकपा (एमाले)का उपनेता सुवासचन्द्र नेम्वाङले ७० वर्षदेखिको जनताको इच्छाअनुसार संविधान निर्माण गरेको तथा असोज २ को निर्वाचनपछि महत्वपूर्ण काम सम्पन्न गरिसक्ने र प्रदेश तथा केन्द्रको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको चर्चा गर्नुभयो । 

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले कहिल्यै अन्त्य नहुने राजनीति गरिरहे देशमा आर्थिक समृद्धिको ढोका खोल्न सकिँदैन भन्दै थप्नुभयो, “प्रजातन्त्र बलियो बनाउन व्यक्ति र पार्टी हेरेर होइन, सही कुरालाई स्वीकार्ने र गलतलाई छाड्ने परिपाटी बसाल्नुपर्छ ।” 

नेकपा (संयुक्त)का अध्यक्ष गणेश शाह, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र अधिवक्ता जनकबहादुर कडायत लगायतका वक्ताले बोल्नुभएको सो कार्यक्रमको सभापतित्व क्लबका अध्यक्ष जेपी गुप्ता ‘मायालु’ ले गर्नुभएको थियो ।