पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अलपत्र अवस्थामा उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान

 

जुम्ला, २८ साउन । करिब चार वर्षअघि जुम्लामा स्थापना भएको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान (मारी) अहिले अलपत्र अवस्थामा छ । 

स्थापनाकालदेखि नै यहाँ विषयगत क्षेत्रका वैज्ञानिकको अभाव र काम चलाउ निर्देशकका भरमा प्रतिष्ठानलाई छोडिँदा यो अलपत्र अवस्थामा परेको हो । 

प्रतिष्ठानका पहिलो निर्देशक मेघराज तिवारी २०७१ सालमा नियुक्त भई छोडेयता निमित्त निर्देशकको भरमा यो प्रतिष्ठान चलिरहेको छ । निर्देशक तिवारीपछि कृषि अनुसन्धान केन्द्र जुम्लाका प्रमुख रामचन्द्रिका प्रसादले करिब डेढ वर्षजति निमित्त निर्देशक हुँदा गरेको पहल पनि परिणाममुखी बन्न सकेन । 

प्रतिष्ठानको उद्देश्यअनुरुपका विषयगत वैज्ञानिक सरकारले नियुक्त गर्न नसक्दा एउटा कार्यशाला गोष्ठीबाहेक अन्य काम अघि नबढेको प्रतिष्ठानका निमित्त निर्देशक नेत्रहरि घिमिरेले जानकारी दिनुभयो । 

“सम्बन्धित विषयका वैज्ञानिक नहुँदा अनुसन्धान कसरी हुन सक्छ र संस्था प्रगतिको आशा कसरी गर्न सम्भव हुन्छ”, निमित्त निर्देशक घिमिरेले भन्नुभयो । 

आवश्यक जनशक्ति अभावले निमित्त निर्देशक हुँदा पनि आफैँले मासिक प्रतिवेदन तयार गर्दै आएको उहाँले गुनासो पोख्नुभयो । उहाँका अनुसार प्रतिष्ठानको प्रस्तावित ३० जनाको दरबन्दीमा १३ जना वरिष्ठ वैज्ञानिकको छ तर त्यो पदमा ११ जनाको दरबन्दी अहिले पनि खाली छ । 

“राष्ट्रिय कृषि र पशु विज्ञान अनुसन्धान प्रतिष्ठान खुमलटार ललितपुर (नारी र नास्री) पछिको उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान तेस्रो हो तर यसको लक्ष्य, उद्देश्य, दृष्टिकोण र कार्यक्षेत्रअनुरुप काम शुरु हुन सकेको छैन”, उहाँले भन्नुभयो । 

जुम्लामा स्थापना भएको यो प्रतिष्ठानले नेपालका उच्च पर्वतीय क्षेत्रमा पर्ने जिल्लाहरुको पशु, चरन तथा घाँसेबाली, बाली, बागवानी, माछा, जडीबुटी र औषधिजन्य वनस्पतिको अनुसन्धान गर्ने उहाँको भनाइ छ । 

प्रतिष्ठानअन्तर्गत कृषि अनुसन्धान केन्द्र विजयनगर, कृषि अनुसन्धान केन्द्र बागवानी (राजीकोट) र भेडा तथा बाख्रा अनुसन्धान कार्यक्रम, गुठिचौर रहेका छन् । 

विसं २०६९ असोज १० गते तत्कालीन प्रधानमन्त्री तथा कृषि विकासमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको नेपाल कृषि अनुसन्धान परिषद्को ४४औँ बैठकले जुम्लाको गुठिचौरमा स्थापना गर्ने र सोहीअनुरुप परिषद्को वर्तमान संगठनात्मक ढाँचासमेत संशोधन गर्ने निर्णय गरिएको थियो । 

सोही निर्णयअनुसार २०७१ जेठ १२ गते डा भोजराज जोशी संयोजक, सदस्यहरु रामबहादुर भुजेल, भोलाशंकर श्रेष्ठ र डा मेघराज तिवारी सदस्य सचिव रहेको कार्यदलले जुम्लास्थित गुठिचौर, राजीकोट र विजयनगरका कार्यालय प्रमुखहरुसँग छलफल गरी प्रतिष्ठान गुठिचौर जुम्लाको ढाँचा, काम, कर्तव्य र अधिकारबारे प्रस्ताव तयार पारी परिषद्मा पेश गरेअनुसार काम अघि बढेको जनाइएको छ । 

के छ प्रतिष्ठानको लक्ष्य, दृष्टिकोण र कार्यक्षेत्रमा 

उच्च पर्वतीय क्षेत्रको पशु, चरन तथा घाँसेबाली, बाली, बागवानी, माछा, जडीबुटी र औषधिजन्य वनस्पतिको उत्पादन र उत्पादकत्व बढाइ सो क्षेत्रमा बसोबास गर्ने जनसमुदायको जीवनस्तरमा सुधार ल्याउन सहयोग गर्ने लक्ष्य प्रतिष्ठानको छ । 

त्यस्तै, उच्च पर्वतीय क्षेत्र दुई हजार मिटरदेखि चार हजार ५०० मिटिरसम्ममा बाली, बागवानी, पशुपालन, मत्स्य तथा जडीबुटीसम्बन्धी अध्ययन अनुसन्धान गरी उत्पादकत्व र कृषकको आम्दानी बढाउने दृष्टिकोण प्रतिष्ठानले लिएको जनाएको छ । 

उच्च पर्वतीय क्षेत्रमा पशु, चरन तथा घाँसेबाली, बाली, बागवानी, माछा, जडीबुटी र औषधिजन्य वनस्पतिको अनुसन्धानमा समन्वय, प्रविधि विकास, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँगको सम्बन्ध विस्तार गर्ने कार्यक्षेत्र प्रतिष्ठानको छ । 

अनुसन्धानकर्ताका लागि वैज्ञानिक वातावरणको सिर्जना, तालीम र अध्ययन कार्य सञ्चालन र यो क्षेत्रका लागि सम्भावित अन्य बाली तथा वस्तुमा अध्ययन र अनुसन्धान गर्ने प्रतिष्ठानले जनाएको छ ।