पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सामुदायिक वनले हरित क्रान्तिको थालनी गरेको छ : मन्त्री गौतम

 

धुलिखेल, २६ साउन । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले हरित क्रान्तिको थालनी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताउनुभएको छ । 

आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ नाला, पाण्डेगाउँस्थित सानोवन सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको ‘सामुदायिक वन राष्ट्रिय दिवस २०७४’ कार्यक्रममा उहाँले सामुदायिक वनको अवधारणा नआएको भए नेपालको हरियाली वन सकिएर जाने अवस्था रहेको बताउनुभयो । 

मन्त्री गौतमले भन्नुभयो, “कृषि र वनलाई उद्योगको रुपमा विकास गर्दै लैजाने हो भने हरियाली वातावरण निर्माणको अभियान अगाडि बढाउन सजिलो हुनेछ ।” 

वन, कृषि र सिँचाइको विकासका लागि सम्बन्धित मन्त्रालयबीच समन्वय गरेर काम गरे मात्रै समृद्धिको दिशामा मुलुक अगाडि बढ्न सक्ने उहाँले बताउनुभयो । 

सांसद कञ्चनचन्द्र वादेले सामुदायिक वनको विकास र संरक्षणका लागि समुदायस्तरबाटै सक्रिय भएर लागेमा सबैले सोचेको जस्तो सामुदायिक वनको विकास छिटो हुने धारणा व्यक्त गर्नुभयो । 

जिल्ला वन कार्यालयका प्रमुख प्रेम खनालले समूहले वन संरक्षणको विकासमा खेलेको भूमिका प्रसंशनीय रहेको उल्लेख गर्दै सामुदायिक वन उपभोक्ता समूहमध्ये सबैभन्दा पहिलो सामुदायिक वन ‘सानोवन सामुदायिक वन उपभोक्ता समूह’ भएको जानकारी दिनुभयो । 

काभ्रे वनपैदावर उद्योग व्यवसायी संघका अध्यक्ष माधवमणि हुँमागाइले वन नीति तथा कानुनी सवालमा अन्योल देखिएको भन्दै नीतिगत व्यवस्थापन र त्यसको कार्यान्वयनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।