पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तीन करोड लगानीमा पाइप उद्योग

 

चरिकोट, २५ साउन । दोलखाको तामाकोशी गाउँपालिका– १ भिरकोटस्थित गोपीटारमा रु तीन करोडको लागतमा प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ । 

दोलखा भीमेश्वर मल्टिटे«डिङ कम्पनी प्राइभेट लिमिटेडले मंगलबारबाट पाइप उत्पादन शुरु गरेको सञ्चालक सुरेश उप्रेतीले जानकारी दिनुभयो । दोलखा, रामेछाप, काठमाडौँ, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र तराईका केही जिल्लामा पाइप खपत गर्ने उद्देश्यले सञ्चालन गरिएको सो उद्योगले दैनिक ७०० किलो पाइप उत्पादन गर्ने बताइएको छ । 

यस उद्योगबाट हाल १६ एमएमदेखि आठ इन्चसम्मका पोलिपाइप उत्पादन गर्ने उप्रेतीले बताउनुभयो । उद्योगमा गार्डेन पाइप, ढलान पाइपलगायत अन्य पाइपका सामग्री उत्पादन गरी बिक्री वितरणको तयारी भइरहेको छ । प्रयोग गरी फालेको फोहरजन्य प्लास्टिकलाई जम्मा गरी त्यसैलाई कच्चा पदार्थका रुपमा पेलेर पाइप उत्पादन गरिने उप्रेतीको भनाइ छ । 

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र युवा व्यवसायी सुरेश उप्रेतीको संयुक्त लगानीमा खुलेको सो उद्योगले आफ्नो लगानी २७ महिनाभित्र असुल गर्ने लक्ष्य राखेको छ । सञ्चालक कार्कीले सो प्लास्टिक उद्योगका कारण सहर तथा गाउँ सफा हुने विश्वाश व्यक्त गर्नुभयो । 

“सहर र गाउँघरमा जथाभावी फालेको फोहर प्लास्टिकलाई जम्मा गरेर उद्योग सञ्चालन गर्ने हो,” उहाँले भन्नुभयो । जिल्लाको कच्चा पदार्थ अपुग हुने भएपछि ५० प्रतिशत बाहिरबाट ल्याइने कार्कीले बताउनुभयो । उद्योगका लागि भारतबाट मेसिन आयात गरी प्रयोगमा ल्याइएको छ । उद्योगलाई वातावरणीय र सरसफाइका दृष्टिकोणले सहज हुने छ । उद्योग सञ्चालन भएपछि स्थानीय कामदारले रोजगारी पाउने छन् । उद्योगलाई दैनिक ७०० किलो पाइप उत्पादन गर्न ८०० किलो कच्चा पदार्थको आवश्यक पर्नेछ । उद्योगले प्रतिमहिना १५ टन पाइप उत्पादन गर्ने बताइएको छ ।