पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पोखरामा पाँच दिनमा २५ प्रतिशत मतगणना

पोखरा ५ जेठ । पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु भएको पाँच दिनसम्म लगभग २५ प्रतिशत मात्र मत गणना भएको छ । कुल ३३ वडा रहेको महानगरमा ११ वटा वडाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । महानगरमा कुल खसेको एक लाख २५ हजार ९३२ मतमध्ये ११ वटा वडाको शुक्रबार साँझसम्म ३१ हजार ३७० मतको मात्रै अन्तिम नतिजा आएको छ । 
नतिजा सार्वजनिक भएको ११ मध्ये नेपाली काँग्रेसले पाँच वडामा प्यानलसहित र दुई वडामा मिश्रित परिणामसहित वडा अध्यक्ष पदमा विजय हासिल गरेको छ भने नेकपा (एमाले)ले तीन वडामा प्यानल र एउटा वडामा मिश्रित परिणामसहित वडा अध्यक्षमा विजयी भएको छ । मतगणनालाई छरितो बनाउन एक साथ चार वडाको छुट्टाछुट्टै स्थानमा गणनाको लागि ११ वटा समूह बनाइएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले अबको पाँच दिनभित्रमा महानगरको सबै मतगणना सक्ने लक्ष्य राखेको छ । रासस