पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रीमान्ले छाडेकी आमा छोरीको उपचारका लागि भौँतारिँदै

(केशवचन्द्र महरा) डोटी, २५ साउन । छ महिनाकी काखे छोरीलाई च्यापेर दीपायल सिलगढी नगरपालिका–६, सिलगढीकी २४ वर्षीया लक्ष्मी नेपाली हिजोआज सदरमुकामका कार्यालयमा धाइरहेकी छन् । काखे छोरीको ढाडमाथि ठूलो फोका उठेको छ । उपचार गर्न उनीसँग पैसा छैन । उपचारका लागि कार्यालय–कार्यालयका दैलोमा पुगेर आँसु झार्दै उनी हार–गुहार गरिरहेकी छन् । 
नौ वर्षअघि १६ वर्षको उमेरमा उनको स्थानीय राजेन्द्र नेपालीसँग मागी विवाह भएको थियो । राजेन्द्र नेपाली सेनामा कार्यरत छन् । सानै उमेरमा विवाह भइसकेपछि अहिले उनीहरुका दुई छोरा र एक छोरी छन् । उनको जेठो छोरो नौ वर्षको भयो । कक्षा दुईमा पढ्छ । जुम्ल्याहा रुपमा एक छोरा र छोरी जन्मिएका छन् । तीनै जुम्ल्याहामध्येकी छोरीको असामान्य तरिकाबाट ढाड फुलेको हो । 
उनका श्रीमान् केही समयदेखि बेखबर छन् । काठमाडौँको भैरवदल गणमा कार्यरत रहेको सुनेको उनले बताइन् । केही समयअघि केही रकम जुटाएर उपचारका लागि छोरीलाई काठमाडौँको वीर अस्पताल पु¥याएको उनले बताइन् । त्यहाँ पुग्दा रु एक लाख ५० हजार र कान्तिबाल अस्पतालमा उपचार गर्दा रु दुई लाख ५० हजारभन्दा बढी खर्च लाग्ने बताएपछि बिना उपचार फर्किएको उनले बताइन् । काठमाडौँ पुग्दा श्रीमान् राजेन्द्र सम्पर्कमा आएको उनले बताइन् । छोरीको उपचारका लागि कुनै उपाय नलागेपछि उनले हार खाइसकेकी छन् ।  अहिले उनी माइतीकै शरणमा परेर जीविका चलाइरहेकी छन् । 

छोरीको उपचार खर्च जुटाउन संघसंस्था र कार्यालय धाउँदा जिल्ला प्रशासन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले सहुलियतमा उपचार गराइदिन सिफारिशसम्म बनाइदिएका छन् । तर, त्यसले सबै समस्या भने समाधान हुनेछैन ।  केही वर्षअघि राजेन्द्रले सेनामा भान्सामा खाना पकाउने काम पाए । त्यसै क्रममा उनीहरुको पहिलो सन्तानका रुपमा छोरो जन्मँदा दुवै खुसी रहेको लक्ष्मीले बताइन् । त्यसपछि धेरै लामो समयपछि जुम्ल्याहा सन्तानका रुपमा छोरा र छोरी जन्मेपछि भने श्रीमान् टाढिँदै गएको उनी बताउँछिन् । अहिले उनीसँग श्रीमान् राजेन्द्र पूरै सम्पर्कविहीन छन् । उनले अर्घाखाँचीको केटीसँग बिहे गरेको लक्ष्मीले सुनेकी छन् । त्यसै क्रममा श्रीमान्ले समेत रुपैयाँ जम्मा गर्न नसकेको र उल्टै सञ्चय कोषमा समेत रकम नरहेको सुनिएको उनले बताइन् ।