पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपप्रम गच्छदार र मधेशकेन्द्रित नेताहरुबीच छलफल

काठमाडौं, ५ जेठ । उपप्रधानमन्त्री  एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदारको अध्यक्षतामा  गठित स्थानीय तह संख्या पुनरावलोकन समिति र मधेशकेन्द्रित दलका शीर्ष नेताहरुबीच स्थानीय तहको संख्या पुनरावलोकन गर्ने सम्बन्धमा आज छलफल भएको छ । 

दोश्रो चरणको स्थानीय तहको निर्वाचन सहमतिका साथ सम्पन्न गराउन असन्तुष्ट पक्षले उठाएका माग सम्बोधन गर्ने उदेश्यले छलफल भएको समितिका सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँणले जानकारी दिनुभयो । 

सिँहदरबारमा भएको बैठकमा उपप्रधानमन्त्री एवम् समितिका संयोजक विजय कुमार गच्छदारले दोश्रो चरणको निर्वाचनमा मधेशकेन्द्रित दलसहित सम्पूर्ण असहमत पक्षहरुलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन सरकारले गम्भीरतापूर्वक गृहकार्य गरिरहेको बताउनुभयो । 

आजको बैठकमा उपप्रधानमन्त्री विजय कुमार गच्छदार, रक्षामन्त्री बालकृष्ण खाँण, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय शंकर नायक, राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्त ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेता सर्वेन्द्रनाथ शुक्ला लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो ।