पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शान्तिदीपको विकासमा स्थानीयवासी जुट्दै

रामपुर (पाल्पा), ५ जेठ । रामपुर उपत्यकाको रमणीय क्षेत्र शान्तिदीप पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न यहाँका स्थानीयवासी जुटेका छन् । कालीगण्डकी नदी नजिकै रहेको रामपुर नगरपालिका–४ को खोप्टारमा अवस्थित सो पार्क हरियाली घाँसे मैदान र वनजङ्गलसहित भौगोलिक रुपमा अति सुन्दर मनमोहक रहेको छ । रानीवन तथा बडवान सामुदायिक वन क्षेत्रको स्वामित्वमा रहेको प्राकृतिक रुपमा सुन्दर क्षेत्र शान्तिदीप पार्कको पर्यटन विकासका लागि वन समूहका उपभोक्ता र स्थानीयवासी जुटेका हुन् । कालीगण्डकी बेँसीका पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासीको मुख्य उपत्यका रामपुर नगरपालिकाको खोप्टारमा रहेको शान्तिदीप पार्कलाई स्थानीयवासीले रामपुरमा ठूलो सङ्ख्यामा बाह्य पर्यटक भित्र्याई यहाँको आर्थिक अवस्था मजबुत बनाउनका निम्ति पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेका हुन् । रानीवन तथा बडवान सामुदायिक वन क्षेत्रभित्र पर्ने सो पार्कमा वन समूहका उपभोक्ताले पर्यटन प्रवद्र्धनमा जुटी भौतिक पूर्वाधार निर्माणका कार्यलाई अगाडि बढाउँदै गएका छन् । चिसो हावापानी, हेर्दै आकर्षक रुपमा मनै लोभ्याउने प्राकृतिक दृश्य, कालीगण्डकी करिडोरको बाटोले घेरेको उक्त पार्क हेर्दा साँच्चिकै सुन्दर छ । 

झन्डै ५५ रोपनी क्षेत्रफलमा फैलिएको सो पार्कमा भौतिक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना छ । हरियाली वनजङ्गल, दक्षिणबाट बग्दै आएको अधेरी खोलाको दृश्य, उत्तरतर्फ कालीनदीको मनोरम दृश्य अवलोकनका निम्ति यहाँ दिनहुँ पर्यटक आउने गरेका छन् । दुई वर्ष अगाडिबाट पार्कको पर्यटन प्रवद्र्धनका लागि यहाँका वन समूहका उपभोक्ता र स्थानीयवासी विकास निर्माणमा जुटेका हुन् । 
जिल्ला वन कार्यालयमार्फत ‘एक नगर एक उद्यान’ कार्यक्रमअन्तर्गत आव २०७१÷७२ मा रु आठ लाख १७ हजार, भू–संरक्षण कार्यालयबाट भल पहिरो नियन्त्रण तथा रोकथामका लागि १५ थान जाली, एकीकृत मगर उत्थान समाज रामपुरबाट २२ ट्रिप ढुङ्गा सहयोग प्राप्त भएको शान्दिदीप उद्यान पार्क निर्माण समितिका सचिव देवबहादुर ठाडाले बताउनुभयो । अहिलेसम्म पार्क निर्माणका लागि रु १७ लाख खर्च भइसकेको छ । यहाँ एकीकृत मगर उत्थान समाज रामपुरको सहयोगमा नेपालका प्रथम सहिद लखन थापाको शालिकसमेत निर्माण गरिएको छ । 

पर्यटकीय क्षेत्रको विकासका लागि यहाँ चिडियाखाना, माछापोखरी, पौडीपोखरी, पानीको छहरा, फोहरा, कालीगण्डकीबेँसीको दृश्यावलोकनका लागि भ्यू टावर, बाल उद्यान, वनभोजस्थल, शीतल कटेज, कार्यालय भवन, मन्दिर, माई थान, घेराबार, पैदल बाटो, खानेपानी धारा, तालिम हल, शौचालय, प्रतीक्षालय, बराजु थान, पारिङ्गे थान, स्थानीय सहिद सूर्यप्रसाद घिमिरेको शालिक निर्माण, मगर समुदायको संस्कृति झल्कने सङ्ग्रहालयलगायत भौतिक पूर्वाधार निर्माण गरिने पार्क निर्माण समितिका संयोजक हमिद मियाँ बताउनुहुन्छ । “चिडियाखानसहितको पर्यटन विकासका लागि करिब रु तीन करोड आवश्यक छ,” उहाँले भन्नुभयो । यहाँ हाल दैनिकजसो ५० भन्दा बढी आन्तरिक पर्यटक अवलोकनका निम्ति आउने गर्छन् । “दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य छ,” संयोजक मियाँले भन्नुभयो । रासस