पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छुः पूर्वअर्थमन्त्री डा महत

 

काठमाडौँ, २ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित गराउनका लागि सरकारले इमान्दार प्रयास गर्नुपर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “सकेसम्म मधेश केन्द्रित दलसँग सहमति गरेर उनलाई पनि चुनावमा सहभागी गराउनुपर्छ, हामीले यसबारेमा लचकता देखाएका छौँ ।” 

नेता डा महतले जनतालाई छिटो सेवा प्रवाह गर्नका लागि मन्त्रिमण्डल चाँडो विस्तार गर्नुपर्ने बताउँदै अहिलेको सरकार काँग्रेस एक्लैको होइन, केही ढिलाइ भएको छ, अब छिट्टै सरकार विस्तार गर्नुपर्छ, यसमा ढिलो गर्नु हुँदैन भन्नुभयो । 

“हालै संसदको क्षेत्र १६७ बढाएर पूरानै २४० क्षेत्र कायम गर्ने हल्लामा कुनै सत्यता छैन् र काँग्रेस निर्वाचन क्षेत्र बढाउने पक्षमा पनि छैन” भन्दै उहाँले माघ ७ गतेभित्र सबै निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता भएकाले यसलाई मध्यनजर गर्दै तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्नुपर्नेमा जोड दिनुभयो । 
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेता डा महतले कर फछ्र्यौट आयोगका पदाधिकारीलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको उल्लेख गर्दै “मैले लुकाएँ भनेर वाहिर हल्ला चलाएको छ, यो जत्तिको हाँस्यस्पद अरु के हुन्छ ?, म माथि लगाइएको आरोप गलत हो, म जहाँसुकै गएर पनि यसको फेस गर्न तयार छु” भन्नुभयो । 
कर फछ्र्यौट आयोग गठन, भ्याट कानूनअन्तर्गत नयाँ आधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण काम आफू अर्थमन्त्री हुँदा भएको उहाँले बताउनुभयो । 

“बाह्र अर्ब राजश्व उठ्ने मुलुकमा म अर्थमन्त्री र काँग्रेसको सरकार हुँदा अहिले ७०० अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए सम्भव हुन्थ्यो र ?”– महतले भन्नुभयो¬, “मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु ।” 

अहिलेको सरकार काँग्रेस एक्लैको होइन, केही ढिलाइ भएको छ । अब छिट्टै सरकार विस्तार गर्नुपर्छ, यसमा ढिलो गर्नु हुँदैन ।”