पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनगुनासा सुन्ने परिस्थिति तयार पार्न सुझाव

 

हेटौँडा, २ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले मुलुकमा संविधानको कार्यान्वयन गर्न आगामी माघ ७ गतेभित्र प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गर्ने वर्तमान सरकारको प्रमुख कार्यसूची रहेको बताउनुभएको छ । 

काँग्रेस मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दैपूर्वपरराष्ट्रमन्त्री डा महतले बाह्य शक्तिको चलखेल निस्तेज पार्न प्रमुख दलका बीचमा तीव्र प्रतिस्प्रर्धा होइन, समन्वयको भूमिका आवश्यक छ भन्नुभयो । 

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय र पूर्वगृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधिलाई जनताप्रति जवाफदेही बनाएको बताउँदै प्रशासन संयन्त्रलाई पारदर्शी बनाई जनगुनासा सुन्ने परिस्थिति तयार पार्न सुझाव दिनुभयो । 

कार्यक्रममा नेकपा (माले)का केन्द्रीय सदस्य भीमसेन महत, राप्रपाका राजन खरेललगायत विभिन्न दल परित्याग गरी काँग्रेसमा प्रवेश गर्ने करिब दुई सय युवालाई स्वागत गर्दै काँग्रेसको सदस्यता वितरण गरियो । काँग्रेसका नगर अध्यक्ष आनन्दराम पराजुली र काँग्रेसमा प्रवेश गर्नुभएका महतले मुलुकमा दिगो शान्ति कायम राख्न र संसदीय प्रजातन्त्रलाई सुदृढ पार्न काँग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।