पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सामुदायिक विद्यालयमा सूचना प्रविधि केन्द्र

 

काठमाडौँ, २ साउन । भूकम्पबाट अति प्रभावित छ जिल्लाका सामुदायिक विद्यालयमा नेपाल टेलिकमको सहयोगमा सूचना प्रविधि केन्द्र (आइसिटी सेन्टर) स्थापना गरिएको छ । 

नेपाल टेलिकमले शारदा मावि प्याउली भोजपुर, रत्नचुण्डेश्वर मावि पानीमुण्डे बनेपा, सगरमाथा मावि ओखलढुंगा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतीदेवी मावि सालु रामेछापमा केन्द्र स्थापना गर्न सहयोग गरेको हो । ती केन्द्रमा विद्यार्थी तथा शिक्षकले इन्टरनेटमार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् । 


ती विद्यालयमा (आइसिटी सेन्टर) स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराइसकेको छ । मासिकरुपमा ३० जिबी डाटा भोलुमको इन्टरनेट सुविधा दुई वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्थासमेत गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

यसैगरी सोलुखुम्बुको जीवनज्योति माविमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने टेलिकमले तयारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

नेपाल टेलिकमले गत आर्थिक वर्षमा पनि पशुपति कन्या मावि चरिकोट दोलखा, ज्ञानमन्दिर नमूना मावि मेलचौर सिन्धुपाल्चोक, दशरथचन्द मावि छत्रेदेउराली धादिङ, रसुवा उच्च मावि धुन्चे रसुवा र बिन्द्रावति उच्च मावि मसेल गोरखामा सूचना प्रविधि केन्द्र स्थापना गरिएको र त्यहाँबाट सेवा सञ्चालनसमेत भइरहेको जनाएको छ । 

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्पबाट अति प्रभावित १४ जिल्लामध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा सूचना प्रविधि केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।