पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

त्रिवि शिक्षण अस्पतालमा दरबन्दी कम भएको गुनासो  

 

काठमाडौँ, १ साउन । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सुरुआतमा ३०१ श्ययाका लागि कायम भएको दरबन्दी अहिले करिब ७०० श्यया पुग्दा पनि स्थायी दरबन्दी थप हुन नसक्दा दीर्घकालीन सञ्चालनमा समस्या परेको छ । 

विसं २०४० मा जापान सरकारको सहयोगमा सो अस्पताल सञ्चालनमा आएको थियो । अस्पताललाई आगामी मङ्सिरसम्ममा करिब रु ७० करोड बराबरको अत्याधुनिक चिकित्सकीय र शल्य उपकरण पनि जापान सरकारले उपलब्ध गराउने भएको अस्पतालले जनाएको छ । भूकम्पको धक्का आएको दुई घण्टामै शल्यक्रिया सुरु गरेको अस्पतालले करिब दुई हजार ५०० घाइते भर्ना र उपचार तथा ६०० भन्दा बढी घाइतेको शल्यक्रिया गरेको थियो । भूकम्पका समयमा अस्पतालले दिएको सेवाको अन्तर्राष्ट्रियस्तरमा प्रशंसा भएको बताइएको छ । 

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को ४६ औँ तथा शिक्षण अस्पतालको ३५ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य सेवाका क्षेत्रमा अस्पतालले अतुलनीय योगदान पु¥याएको र यो देशभरका बिरामीको पहिलो रोजाइ बन्ने गरेको बताउनुभयो । “अस्पतालले उपचार सेवामा गरेको योगदान महत्वपूर्ण छ, नेपालमै दक्ष र गुणस्तरीय चिकित्सक र स्वास्थ्य जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने पनि आइओएमले प्रमाणित गरेको छ, अस्पतालको थप सुधारका लागि हरेक प्रकारको सहयोग गर्न सरकार सदैव तयार छ”, उहाँले भन्नुभयो । 
त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँले आइओएमबाट माग भएका हरेक विषयलाई त्रिविले सम्बोधन गर्ने गरेकाले निजी शिक्षण अस्पतालको सिट सङ्ख्या घटे पनि सरकारी शिक्षण संस्थाको सिट बढाउनुपर्नेमा जोड दिनुभयो । 
अस्पतालका निर्देशक डा दीपक महराले अस्पतालको सेवालाई छिटो र चुस्त बनाउन टिकट र ‘रिपोर्ट’लिने समयलाई व्यवस्थापन गर्न सुरु गरिएको र अस्पतालका बिरामी तथा अस्पतालकर्मीले खाने खानाको नियमित निगरानी गर्न थालिएको जानकारी दिनुभयो । 

कार्यक्रममा भूकम्पका समयमा औषधि, उपकरण र आर्थिक सहयोग गर्ने व्यक्ति सङ्घसंस्थालगायत अस्पातलमा उत्कृष्ट सेवा गरेका कर्मचारी, चिकित्सक, परिचारिका, प्रविधिज्ञलगायतलाई सम्मान गरिएको थियो ।