पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गाउँपालिकाको पहिलो प्राथमिकता : पचाल झरना पदयात्रा 

radionepal

 

रत्न कार्की  / कालिकोट

कालिकोट, २९ असार । 

युगौँ देखि रहेका कालिकोटको प्राकृतिक सम्पदाहरु अहिले ओझेलमा पर्दै गएको छ  । भर्खर मात्रै सम्पन्न भएको स्थानिय निकायको निर्वाचित पचालझरना गाउँपालिकाका प्रतिनिधिहरुले आफ्नो मुख्य योजनामा पर्यटन विकास रहेको बताउँछन । स्थानिय तहमा जन प्रतिनिधिहरु  निर्वाचित भएपछि पहिलो पटक स्थानिय तहका निति तथा कार्यक्रम तयारी गरी बजेट बिनियोजन हुन लागेको बेला पचालझरना गाउँपालिकाका अध्यक्ष खडकराज सेजुवालले साउन पहिलो साता पचालझरना पदयात्रा सुरु गरिने बताउनुभयो । 

अध्यक्ष सेजुवालले पचालझरना गाउँपालिकाको नाम पनि  गाउँपालिकामा रहेको  प्रमुख  पर्यटकीय क्षेत्रको नामबाट राखिएको हुनाले पहिलो गाउँपालिकाको पहिचान  स्वरुप पचालझरनाको बारेमा सत्यतथ्य बाहिर ल्याउन पदयात्रा सुरु गर्न लागिएको बताउनुभयो । गाउँपालिकाको निति तथा कार्यक्रममै त्यसको संरक्षण, प्रचार प्रसार गर्ने गरि निति तथा कार्यक्रम ल्याउन लागिएको अध्यक्ष सेजुवालले बताउनुभयो ।पर्यटन, प्रर्वद्धन कर्णालीको विकासको मूख्य मेरुदण्ड हो । पर्यटन, कृषि, पशुपालन, जल, जंगल र जडिँबुटि कालिकोटका मुख्य आर्थिक सम्बृद्धिका आधार हुन । त्यसैले पचालझरना गाउँपालिकामा रहेको सम्भवत दक्षिण एसियाकै र नेपालको अग्लो झरना हो । त्यहाँ पर्यटकका लागि बाटो, बसोबास र आवत जावतको ब्यवस्था मिलाएर पर्यटन बिकासको ढोका खोल्ने सेजुवालले बताउनु भयो । 

पचालझरना कालिकोटको पुर्वी भेकमा पर्ने पलाता क्षेत्रको पचालझरना गाउँपालिकाको खार्दु गाउँमा पर्छ । पलाता क्षेत्रका नानिकोट, राम्नाकोट र बदालकोट मिलेर बनेको पचालझरना गाउँपालिकोको वडा नं ३ ठुलो भुगोलमा फैलिएको उता क्षेत्रको प्रसार प्रचारको अभावमा रहेको छ ।हालसम्म पचालझरनालाई कसैले दक्षिण एसियाको अग्लो भनेका छन कसैले नेपालको अग्लो भनेका छन तर उता झरना को लम्बाई यकिन गरेर त्यसलाई सुचिकृत गर्ने सोच कसैको पनि गएको देखिदैन । खास गरी पचालझरना गाउँपालिका र  कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रलाई ओगटेको कालिकोटको तिनहजार मिटर उचाईमा रहेको  चुलिमालिका र पुगमालिका क्षेत्र बाट फुटेका पानीका मुहानहरुबाट बनेका दर्जनौ साना–ठुला खोला पचालझरना क्षेत्रको कन्चुरी क्षेत्रमा आएर सबै एक ठाउँमा मिसिन्छन् । त्यसैले पचालझरनालाई तिर्थस्थल को रुपमा पनि भनिने गर्छन । र त्यसै ठाउँबाट बनेको झरना फेदिमा रहेको भडारो भन्ने स्थानमा खस्छ त्यसैको नाम हो पचालझरना ।  पचालझरनाको बारेमा सत्य–तथ्य बाहिर ल्याउन बिगतमा जिल्ला विकास समिति, पर्यटन मन्त्रालय लगायतका विभिन्न निकायबाट बजेट विनियोजन भई अनुसन्धान र खोज अन्वेषणको काम थालिएको भए तापनि अहिलेसम्म त्यसको अनुसन्धानका विषयहरु बाहिर ल्याउन सकेका छैनन् । ठुलो रकम खर्चिसकेको भए पनि त्यसका बारेमा कसैले खोज अनुसन्धानलाई निरन्तरता दिन सकेका छैनन् ।  अहिले पदयात्रा सुरु गर्ने त्यसको तयारी भइसकेको छ । झरनाको उचाई पता लगाउने त्यसलाई ब्यापक प्रचार–प्रसार गर्ने नीति गाउँपालिकाले लिने  अध्यक्ष सेजुवालले बताउनु भयो ।