पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ढुक्क भएर मतदान गर्न प्रमुख निर्वाचन आयुक्त डा. यादवको आग्रह

radionepal

निर्वाचन आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले सुरक्षाको भरपर्दो व्यवस्था गरिएकाले मतदानमा ढुक्क भएर सहभागी भई आफूले रोजेको उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नु भएको छ । भोलीको निर्वाचनमा ४९ हजार ३ सय ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला उम्मेदवार छन्, । यस्तै ९ हजार ८३ महिला वडा सदस्य र सात हजार ५ सय २६ दलित महिलाको वडा सदस्यमा उम्मेदवारी छ । उत्साहका साथ मतदानको प्रतीक्षामा रहेका मतदाताले कुनै कारणवशं मतदाता परिचयपत्र नपाएको भए नागरिकताको प्रमाणपत्र देखाएर मतदान गर्न सक्ने व्यवस्था गरिएकाले त्यसको सदुपयोग गरी मतदानमा सरिक हुन पनि  प्रमुख आयुक्त यादबले आग्रह गर्नुभयो । 
          जुन मतदान केन्द्रमा मतदाता नामावलीमा नाम छ, त्यही केन्द्रमा गएर मतदान गर्न तथा नाम ढाँटेर अर्काको नाममा मतदान नगर्न आयोगले मतदातालाई सचेत गराएको छ । आयोगले निर्वाचनको अनुगमन गर्न केन्द्रदेखि स्थानीय तहसम्म सूक्ष्म ढङ्गले विभिन्न तहको अनुगमन टोली र ४९ वटा संस्थाका पर्यवेक्षक खटाएको जनाएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा १ सय ६० महिला र १सय ६९ पुरुष गरी ३ सय २९ जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार ९सय २५ मतदाता मतदान गर्दै छन् । 
निर्वाचनमा राष्ट्रिय पर्यवेक्षण गर्ने ४९ संस्थाका पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्नेछन् भने आयोगले केन्द्रदेखि जिल्ला तहसम्म अनुगमन र सूक्ष्म अनुगमनको समेत व्यवस्था मिलाएको छ । 
          आचारसंहिताको पूर्ण पालना गर्दै मतदातालाई मताधिकारको प्रयोग गर्ने सहज वातावरण निर्माणका लागि सबै राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, आमसञ्चार माध्यम र निर्वाचनसँग सरोकार राख्ने सबैसँग अनुरोध गरेको छ ।आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन आयोग दृढ रहेको प्रतिबद्धता व्यक्त गरेको छ । कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपर्ूण निर्णय गरेर गोप्य मतदान गर्न आयोगले सबैमा अपिल पनि गरेको छ ।