पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आईटीएफ छनोट प्रतियोगिता सोमबार सुरु हुने

काठमाडौं, २९ बैशाख । अखिल नेपाल लनटेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । 

प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभागिता रहने आयोजक संघकी अध्यक्ष ज्योति राणाले  पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । सहभागी राष्ट्रलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ । 

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् । फाइनल पुग्ने दुई राष्ट्र यसै वर्षको डिसेम्बरमा काजाकिस्तानमा हुने आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपका लागि छनोट हुने आयोजक संघका महासचिव मनोहरदास मुलले जानकारी दिनु भयो  । पुरुष र महिलामा समान २–२ राष्ट्र छनोट हुने प्रावधान छ ।

सहभागी सबै ७ राष्ट्रबाट समान ३–३ ब्वाइज र गल्र्स खेलाडी सहभागी हुनेछन् । टिम स्पर्धामा दुई सिंगल्स र एक डबल्स खेल खेलाइनेछ । यस्तै प्रकारको छनोट पश्चिम एसिया, मध्य एसिया, दक्षिण–पूर्वी एसिया र पूर्वी एसिया क्षेत्रमा पनि हुनेछ । १२ राष्ट्र सहभागी हुने पश्चिम एसिया तथा ६ राष्ट्र सम्मिलित मध्य एसियाली छनोटबाट समान २–२ राष्ट्र छानिने छन् । 

त्यस्तै दक्षिण–पूर्वी र पूर्वी एसियाबाट समान ३–३ राष्ट्र छनोट हुने छन् जसमा क्रमशः १० र ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ६ दिने प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित टेनिस कोर्टमा हुनेछ ।