पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारबाट एकल विन्दु सेवा केन्द्र सञ्चालनमा

काठमाडौँ । उद्योग प्रशासनसँग सम्बन्धित सम्पूर्ण सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले सरकारले आजदेखि एकल विन्दु सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
स्वदेशी तथा विदेशी लगानीकर्ताले विगत लामो समयदेखि माग गर्दै आएको एकल विन्दु सेवा केन्द्र आज एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले शुभारम्भ गर्नुभयो । 
त्रिपुरेश्वरस्थित उद्योग विभाग परिसरबाट सञ्चालनमा ल्याइएको केन्द्रमार्फत सरकारका विभिन्न निकायले प्रदान गर्ने सेवा समयभित्रै एकै स्थलबाट उपलब्ध गराउने, स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानी परामर्श, उद्योग स्थापनाको अनुमति, दर्ता र विस्तारदेखि निर्गमन (एक्जिट) सम्मका उद्योग प्रशासनसम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन् ।
तत्कालका लागि केन्द्रको प्रमुख कार्यकारीका रूपमा उद्योग विभागका महानिर्देशकले नै जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयले जनाएको छ ।
उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजश्व विभाग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अध्यागमन विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, भन्सार विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी केन्द्रमा खटिएका छन् । 
एकल विन्दु सेवा केन्द्र शुभारम्भ गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले मुलुकमा लगानीको ढोका खुलेको बताउनुभयो ।
उहाँले विगतमा विभिन्न बहानामा लगानीकर्तालाई निरुत्साहित बनाउने प्रवृत्ति रहेको स्वीकार गर्दै उहाँले सेवा प्रवाहलाई सरल र सहज बनाउन सरकार लागि परेको प्रष्ट पार्नुभयो ।     
मन्त्री यादवले भन्नुभयो, “भ्रष्टाचारले बहुआयायिक रूप धारण गरेको छ, हिजोका दिनमा टेबलमुनिबाट गलत क्रियाकलाप हुन्थे, अब ‘सेटिङ’ मिलाएर भ्रष्टाचार गर्ने प्रवृत्ति देखिन थालेको छ । सेवाग्राही र कर्मचारी दुवैले नैतिकवान् बनेर जिम्मेवारी वहन गर्नुभयो भने समृद्ध नेपाल निर्माण गर्ने सरकारको लक्ष्य हासिल हुनेछ ।”
कार्यक्रममा उद्योग सचिव यामकुमारी खतिवडाले अब उप्रान्त लगानीका लागि कुनै प्रक्रियागत झन्झट व्यहोर्नु नपर्ने जिकिर गर्दै लगाीकर्ताले विभिन्न निकाय धाउनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । 
रासस