पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गृहमन्त्री र अमेरिकी उपसहायकमन्त्री भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एसिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ ।
गृह मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।
भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माण लगायतका क्षेत्रमा अमेरिकाले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।
गृहमन्त्री थापाले केही महीनाअघि नेपालका परराष्ट्रमन्त्रीको अमेरिका भ्रमण र भ्रमणका क्रममा भएका सहमतिले नेपाल र अमेरिका सम्बन्धलाई थप उचाइमा पु¥याउन भूमिका खेलेको चर्चा गर्नुभयो ।
गृहमन्त्री थापाले नेपाल राजनीतिक स्थिरतासँगै अब तीब्र आर्थिक विकासको चरणमा प्रवेश गरेको जानकारी दिँदै यसमा अमेरिकी सरकार र जनताको सहयोगका लागि उपसहायक मन्त्री रेञ्जसँग आग्रह गर्नुभयो ।
गृहमन्त्री थापाले अमेरिकाले ‘मिलेनियम च्यालेञ्ज कोपरेशन’ मार्फत नेपाललाई प्रदान गरेको आर्थिक सहयोगले नेपालको आर्थिक विकास तथा विद्युतीकरणका लागि महत्वपूर्ण हुने बताउनुभयो ।
त्यस अवसरमा अमेरिकी उपसहायकमन्त्री रेञ्जले नेपाल र अमेरिकाको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई थप उचाइमा लैजान आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेपालको पूर्वाधार, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, मानव बेचबिखनलगायत क्षेत्रमा अमेरिकाले सहयोग गरिरहेको बताउँदै त्यो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपसहायकमन्त्री रञ्जले अमेरिकी स्वयम्सेवी समूह ‘पिसकोर’ को प्रवेशाज्ञाको समयावधि थप तथा नेपालको अध्यागमन प्रणालीको स्तरोन्नतिका लागि सहयोग लगायत विषयमा समेत गृहमन्त्री थापासँग कुरा राख्नुभएको थियो ।
भेटवार्तामा नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥याण्डी बेरीसमेत सहभागी हुनुहन्थ्यो ।
रासस