पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शान्ति सम्मेलनपछि युद्धविरामको आह्वान

काठमाण्डौ । अफगानिस्तानको राजधानी काबुलमा केही दिन यता भएका बृहत शान्ति सम्मेलनपछि अफगान अधिकारीहरुले बिहीबार युद्धविरामको लागि आह्वान गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा जम्मा भएका हजारौ प्रतिनिधिले तालिबान लडाकू समूहसँग शान्ति सम्झौताको विषयमा सम्भावित परिस्थितिका विषयमा छलफलपछि अफगान अधिकारीहरुले युद्धविरामको आह्वान गरेका थिए । 

काबुलमा कडा सुरक्षाका बीच धार्मिक र आदीबासी नेताहरु, राजनीतिज्ञ, विभिन्न क्षेत्रका प्रतिनिधिलगायत ३ हजार भन्दा बढी व्यक्तिको सहभागीतामा सम्भावित शान्तिको विषयमा छलफल गरिएको थियो । 

यस बृहत शान्ति सम्मेलनमा तालिबान लडाकू समूहको भने सहभागीता रहेको थिएन । तर आगामी हप्ताको बुधबार  कतारको दोहामा अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिबीच नयाँ चरणको शान्तिवार्ता हुन गईरहेको छ । 

अमेरिकी शान्ति दूत जाल्मे खालिलजादको नेतृत्वमा तालिबान लडाकू समूहसँग वार्ता हुन लागेको हो । 

सन् २००१ देखि यतामात्र अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भइरहेको युद्धमा दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक जतिसक्दो चाँडो स्वदेश फर्काउने घोषणा यसअघि नै गरिसक्नुभएको छ । 

अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सेना तैनाथ छन् । यी सैनिकलाई पनि अफगानिस्तानाट फर्काउने विषयमा वार्ता हुने बताइएको छ ।