पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रीलङ्कामा भएको बिस्फोटको घटनाप्रति प्रधानमन्त्री ओलीबाट दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले श्रीलङ्कामा भएको बम बिस्फोटको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले आज श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई एक समवेदना सन्देश पठाउनुहुँदै विष्फोटको घटनाप्रति दुःख व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ,  “आज  विहान श्रीलङ्काका विभिन्न सार्वजनिक स्थानहरुमा भएको श्रृंखलावद्ध वम आक्रमणमा परी कैयौं निर्दोषहरुले जीवन गुमाउनुपरेको घटनाले मलाई अत्यन्त दुःखी बनाएको छ । ”
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकारले मानवता विरोधी जघन्य घटनाको भत्र्सना गरेको उल्लेख गर्नुहुँदै भन्नुभएको छ, “यस्तो आपराधिक घटनामा संलग्न अपराधीहरुलाई सकेसम्म चाँडै कानूनको दायरामा ल्याइनेछ भन्ने कुरामा म विश्वस्त छु । नेपाल आतङ्कवाद विरुद्धको आफ्नो सैद्धान्तिक अडानमै उभिएर कुनै पनि रङ्ग र रुपको आतङ्कवादको कडा शब्दमा निन्दा गर्दछ ।”
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल सरकार र सम्पूर्ण नेपाली जनताका तर्फबाट घटनाका मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्नुहुँदै  शोकाकूल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ  ।
प्रधानमन्त्री ओलीले समवेदना सन्देशमा भन्नुभएको छ,  “दुःखको यस घडीमा हामी श्रीलङ्काका मिलनसार जनताका साथ उभिएका छौं । म घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।”