पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

३१ वटा परियोजनामा रु. २५ खर्बभन्दा बढीको लगानी प्रस्ताव

लगानी सम्मेलनमा प्रस्तुत गरिएका ७७ योजनामध्ये यही वैशाख ७ गतेसम्म ३१ परियोजनामा ४८ प्रस्तावहरु मार्फत २५ खर्ब रुपैयाँ भन्दा बढीको लगानी प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ ।
गते चैत १५ र १६ गते काठमाडौंमा गरिएको लगानी सम्मेलनमा सरकारबाट ५० र निजीक्षेत्रबाट २७ गरी कुल ७७ परियोजना प्रस्तुत गरिएका थिए ।
बोर्डका अनुसार, अधिकाङ्श परियोजनामा एक एकवटा मात्र प्रस्ताव परेको छ ।
लगानीकर्ताहरुले यातायात पूर्वाधारका योजनामा धेरै चासो देखाएको जानकारी बोर्डले दिएको छ ।
लगानी सम्मेलनमा प्रस्तुत गरिएका बाहेक अन्य पाँच परियोजनाका लागि पनि लगानी प्रस्ताव आएको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार, निजगढ विमानस्थलमा ६, बाहिरी चक्रपथमा ४ वटा, धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिउ विमानस्थलमा २ वटा, भक्तपुरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका लागि दुईवटा प्रस्ताव परेका छन् ।
यसैगरी, कृषि पूर्वाधारका क्षेत्रका पाँच परियोजनामा ७ , स्वास्थ्य तथा शिक्षा पूर्वाधार क्षेत्रका तीन परियोजनामा २, ऊर्जा क्षेत्रका सात परियोजनामा ८, उद्योग पूर्वाधारको एक परियोजनामा एउटा, पर्यटन पूर्वाधार क्षेत्रका तीन परियोजनामा ३, यातायात पूर्वाधारका नौ परियोजनामा २२ र सहरी पूर्वाधार क्षेत्रका चार परियोजनामा ५ वटा आवेदन परेका छन् ।
आज आयोजित पत्रकार सम्मेलनमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले लगानीलाई सहजीकरण गर्न सरकारले एकै थलोबाट सबै प्रकारका सेवा उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।
गत बिहिवार बसेको लगानी बार्डको बैठकले आयोजनाका लागि प्रस्ताव पेश गर्ने समय एक महिना थप गर्ने निर्णय गरेको थियो ।
भुवनप्रसाद आचार्य, रेडियो नेपाल