पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपाको सांङ्गठनिक एकीकरणको घोषणा भोलि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको सांङ्गठनिक एकीकरणको घोषणा भोलि नै गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा प्रदेश नम्बर ३, संगठन कमिटीले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले  कम्युनिष्ट पार्टी स्थापना दिवस पारेर भोलि नै पार्टीको साङ्गठनिक एकीकरणको घोषणा गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभएको हो ।
अध्यक्ष प्रचण्डले नेकपा एकताको सङ्कल्पसहित जनतामा गएको स्मरण गर्नुहुँदै जनताले अनुमोदन गरेको पार्टीको एकीकरणको घोषणा एउटा सिद्धान्तमा टेकेर गरिन लागेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी स्थापनाको ७० वर्षको अवधिमा पहिलोपटक दुईतिहाइ बहुमत सहितको कम्युनिष्ट सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारा लिएर आर्थिक विकासमा लागेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टी संगठन र सरकारले गरेका कामहरुको समीक्षा भइरहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेकपाको सरकारले गरेका जनप्रिय कामबाट प्रतिपक्ष आत्तिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
नेकपा प्रदेश नं. ३, संगठन कमिटीका इञ्चार्ज तथा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले सबैलाई न्याय दिने र समानता एवं परिवर्तनको पक्षमा वकालत गर्ने नेकपाको सरकारले नै मुलुकलाई समृद्ध बनाई आर्थिक विकासमा समेत फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का जेष्ठ कम्युनिष्ट सदस्यलाई सम्मान समेत गरिएको थियो ।
यशोदा अधिकारी, रेडियो नेपाल