पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वालिङ नपा र क्लियरिङ हाउसबीच सम्झौता

वालिङ-सेवाग्राहीले नगरपालिकालाई वा नगरपालिकाले सेवाग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम अब चेकबाट नभई अनलाइनबाट भुक्तानी गर्ने कार्यका लागि वालिङ नगरपालिका र नेपाल क्लियरिङ हाउसबीच शुक्रबार सम्झौता भएको छ । नगरपालिकाका तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र क्लियरिङ हाउसका कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानबीच सम्झौता भएको हो । “

नगरवासी काम विशेषले वालिङभन्दा बाहिर कुनै पनि ठाउँबाट नगरपालिकाले निर्माण गरेको एप्सको माध्यमबाट सेवा लिन सक्ने र सोको भुक्तानी पनि मोबाइलबाट घरमै बसेर गर्न सकिने नगरप्रमुख खाँणले बताउनुभयो ।

नगरपालिकाले वृद्धभत्ता, कर्मचारी तथा तलब, निवृत्तिभरण तथा सेवाग्राहीलाई नगद एवम् चेकमार्फत गरिने भुक्तानीहरु अब सेवाग्राहीको बैंक खातामा सिधै जम्मा गर्न सकिनेछ । नगरपालिकालाई सेवाग्राहीले भुक्तानी गर्नुपर्ने रकम अनलाइनबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने क्लियरिङ हाउसका कार्यकारी अधिकृत प्रधानले बताउनुभयो ।

केन्द्रीय तहमा कार्य गर्दै आएको क्लियरिङ हाउसले अनलाइन भुक्तानी तथा यससम्बन्धी अन्य गतिविधि पहिलो पटक स्थानीय तहमा वालिङ नगरपालिकासँग गरेको कार्यकारी अधिकृत प्रधानले बताउनुभयो । ‘पेपर लेस’ अभियान र अनलाइन भुक्तानी सेवाका बारेमा नगरवासीलाई अभिमुखीकरण तालीम प्रदान गरिने वालिङ नगरपालिकाले जनाएको छ ।