पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘विप्लव समूहलाई वार्ताका माध्यमबाट मूलधारमा ल्याउनुपर्छ’

भीमदत्तनगर । नेपाली काँग्रे्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई सरकारले वार्ताका माध्यमबाट राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । 

आज कञ्चनपुरको भिमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले दुई तिहाइको बलमा सरकारले हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै विश्वविद्यालयमा प्राज्ञिक नियुक्ति, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी गरेको आरोप लगाउनुभयो । 

यसैगरी, नेपाली काँगे्रस कैलाली क्षेत्र नम्बर १ को टीकापुरमा पार्टी कार्यालय भवनको उद्घाटन गर्नुहुँदै सभापति देउवाले सरकारले सुदूरपश्चिम विश्व विद्यालयको प्राज्ञिक स्वतन्त्रतामा हमला गरेकाले पार्टीले त्यस्तो हस्तक्षेप नसहने बताउनुभयो ।  

आफू प्रधानमन्त्री भएको बेला सुदूरपश्चिमको धेरै विकास गरेको बताउँदै सभापति देउवाले  कर्णाली, महाकाली र पश्चिम सेती जलविद्युतको विकास गरी प्रदेशलाई सबै भन्दा धनी प्रदेश बनाउन सकिने बताउनुभयो ।