पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

चर्को शुल्क बन्द गर्न विद्यार्थी सङ्गठनको माग

काठमाडौँ । निजी शैक्षिक संस्थाले मनोमानी रुपमा लिइरहेको चर्को शुल्क बन्द गर्न माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज ज्ञापनपत्र बुझाएका छन् ।  

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)का प्रतिनिधिले आज शिक्षा मन्त्रालयमा मन्त्री पोखरेललाई भेट गरी आठबुँदे ज्ञापनपत्र बुझाउँदै निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालयले मनोमानी ढङ्गले गरेको चर्को शुल्क वृद्धिले राज्यले लिएको समाजवादोन्मुख शिक्षा नीतिको लक्ष्य विपरीत भएकाले चर्को शुल्क बन्द गर्न माग गरेका हुन् । 

यस्तै भर्ना आवेदन फारम, पोशाक, पुस्तक, टाई, पेटी, झोला आदिका नाममा गरिने अतिरिक्त व्यापारलाई तत्काल बन्द गर्नुपर्ने, गण्डकी मेडिकल कलेजलगायतका मेडिकल कलेजमा तोकिएभन्दा बढी लिइएको शुल्क फिर्ता गराउने सहमति प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने माग विद्यार्थी सङ्गठनले मन्त्री समक्ष राखेका छन् । 

ज्ञापनपत्र बुझ्दै मन्त्री पोखरेलले सरकारले सार्वजनिक विद्यालय सुधार गर्न पहल गरिरहेको भन्दै स्थानीय तहलाई नै निजी विद्यालय सुधार गर्ने जिम्मा दिइएको बताउनुभयो ।