पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महानगरपालिकाद्वारा संस्थागत विद्यालयको शुल्क निर्धारण 

सरिता खनाल । हरेक वर्ष नयाँ शैक्षिकसत्र सुरुभएसँगै विद्यालयहरुले आँफुखुसी विद्यार्थीहरुसँग शुल्क असुल्ने गरेकोमा आगामी शैक्षिकसत्रदेखि लागू हुने गरी काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ ।

महानगरको शिक्षा विभागले संस्थागत विद्यालयलाई क, ख, ग र घ वर्गमा वर्गीकरण गरी वर्गअनुसारको अधिकतम शुल्क लिन पाउने व्यवस्था गरेको हो । विद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा विद्यालय वर्गीकरण तथा शुल्क तोकिएको महानगरले जनाएको छ ।

विद्यालयको वर्र्गीकरणका लागि ५४ बुँदा र अन्य उपबुँदामा सूचक तोकिएका छन तीमध्ये विद्यालयको आफ्नै जग्गा, भवन, हातामा घेराबार, खेलमैदानजस्ता भौतिक पूर्वाधार, पुस्तकालय, शौचालय, खेलका सामग्रीजस्ता सुविधा विद्यार्थी सङ्ख्या, शिक्षक, छात्रवृत्ति, विद्यालय व्यवस्थापन समितिको बैठक, शैक्षिक उपलब्धि, महिला शिक्षक अनुपात, छात्राबास, बालमैत्री कक्षा, शिक्षक बैठक, कर्मचारी संख्या लगायत छन ।

नयाँ तोकिएको शुल्क कार्यान्वयन भए नभएको अनुगमन गर्ने जिम्मा पनि विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिलाई दिइएको छ भने तोकिएको भन्दा बढी शुल्क लिने विद्यालय खारेज गर्ने सम्मको कदम चाल्ने काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।