पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

टोर्नाडो’को स्थलगत अध्ययन गर्दै मौसमविद् टोली 

काठमाण्डौं । गत साता बारा र पर्सामा गएको मौसम प्रणाली साधारण हुरी नभई ‘टोर्नाडो’ भएको प्रारम्भिक अध्ययनले देखाएपछि मौसमविद्को टोलीले स्थलगत अध्ययन थालेको छ । 

वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपालको एक टोली स्थलगत अध्ययनका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको मौसम विभागले जनाएको छ । 

विभागका महानिर्देशक सरजु वैद्यले टोली स्थलगत अध्ययनबाट फर्केपछि ‘टोर्नाडो’का बारेमा आधिकारिक जानकारी सार्वजनिक गर्ने बताउनुभयो ।

भूउपग्रहको तस्बीरका आधारमा ‘टोर्नाडो’ करीब ३५ किमी लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको अनुमान गरिएको छ । यसअघि नेपालमा ‘टोर्नाडो’ को घटना भएको अभिलेख छैन ।

यही चैत १७ गते आइतबार साँझ बारा र पर्सामा गएको भिषण हुरीमा परी २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए । हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पु¥याएको थियो ।