पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काष्ठ मूर्तिकलामा ‘चेतनाका स्वर’

radionepal
–नारायण ढुङ्गाना 

काठमाडौँ, १० चैत २०७५ । ललितकलाका विद्यार्थी मोरङका भुवन विकले काइँयोको मुढामा छिनो राखेर मुङ्ग्रोले टकटक पार्दै दृष्टिविहीन व्यक्तिलाई कसैले घाँटीमा हातले आठ्याइरहेको मूर्ति कुँद्दै हुनुहुन्थ्यो । उहाँले एक साताको प्रयासमा मुढोलाई लगभग आकृतिमा ढालिसक्नुभएको थियो । 

“बाटोमा जताततै गरीब निमुखालाई हेप्ने, पिट्ने गरेका घटना देखेको छु, त्यसैलाई मूर्तिमा उतारेको, यसको मुख्य सार भनेको धनीले गरीब वा पछि परेका समुदायलाई हेप्नु हुन्न भन्ने हो”, विकले आफ्नो काष्ठकलाको उद्देश्य प्रष्ट्याउनुभयो । मूर्तिमार्फत समाजमा चेतनाको स्वर मुखरित गरेको भन्दै उहाँले समाजका अगुवा वर्गले निमुखालाई हेप्नेभन्दा माया र सहयोग गर्नुपर्छ भनेर मूर्तिबाट सन्देश दिन खोजेको उल्लेख गर्नुभयो । 

रोशन खत्रीले काठको मुढोमा सुन्दर फूलको बीचमा भगवान् गणेशको मूर्ति कुँद्नुभयो । यमबङ थापा पनि काठको धुलोका बीच किताब बनाउँदै हुनुहुन्थ्यो । थापाले भन्नुभयो, “मैले ‘सेक्रेट बुक’ (रहस्यमय किताब) बनाएको, खुला पनि होइन बन्द पनि छैन, हल्का खुलेको ।” 

पुरुष कलाकारको बीचमा धुलाम्मे भएर ग्रयाण्डरबाट खाक्सी लगाउँदै गर्नुभएकी विनिता राई पनि मुढोलाई आकारमा ढाल्दै हुनुहुन्थ्यो । हातमा पञ्जा लगाएर काठ वल्टाइपल्टाइ गर्दै राईले काष्ठ मूर्तिकलामार्फत चिन्डो बनाउँदै गरेको बताउनुभयो । “राई, लिम्बूको संस्कृति उधौली र उभौली पर्वमा सगुन राखेर दिने भाँडो (चिन्डो) बनाएकी हुँ”, राईले भन्नुभयो । मूर्तिकलामा संस्कृति र मौलिक पहिचानलाई काठमा उतारेको उहाँले बताउनुभयो । 

उमेश कपाली र दीपेन्द्र थापाले शिवलिङ्ग बनाउनुभयो भने थापाले अर्को औँठी र चापीको सम्बन्धलाई काठमा उतार्नुभएको छ । चितवनका दिनेश्वर महतोले एक प्रेमिल जोडीलाई काठमा दुरुस्त पार्नुभयो । “एक जोडी अङ्गालो मारेको अवस्थामा छन्, यसले माया प्रेमको सङ्केत गर्छ, संसार प्रेममा अडिएको छ, यसको सन्देश त्यही हो”, महतोले भन्नुभयो । 

राजेश बरालले चिलिम तयार पार्नुभयो । तर चिलिमको मुख बन्द गरेर तमाखु खान नहुने सन्देश दिन खोजेको उल्लेख गर्नुभयो । सुजित थापा मगरले आमा बाबुको मायालु शिशुलाई काठमा उतार्नु भएको छ । एक दम्पतीले हत्केलामा लिँदै गरेको शिशुको आकृतिले वात्सल्यभावको झल्को दिन्छ । हेर्दा आमाबाबुको छोराछोरीप्रतिको ममता झल्किन्छ । सँगै उहाँले जीवनको पाइलासमेत बनाउनुभयो । 

यसरी मूर्ति बनाउनेको भीडमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख लालकाजी लामासमेत सामेल भएर काठलाई आकार दिन व्यस्त हुनुहुन्थ्यो । “ जन्म दिने आमालाई नै मानिसले बिर्सिरहेका छन्, त्यसैले ती आमा घुम्टो ओढेर बस्न बाध्य छिन्, भित्रभित्रै दबिएर बस्न बाध्य छिन्, त्यसैलाई काष्ठकलामार्फत देखाउन खोजेको छु”, लामाले तयार हुँदै गरेको आफ्नो मूर्तिकलाबारे प्रष्ट्याउनुभयो । 

प्रतिष्ठानको प्राङ्गणमा यसरी ३१ चित्रकारले एक हप्तादेखि काठबाट मूर्ति बनाइरहनुभएको छ । 

प्रतिष्ठानको मूर्तिकला विभागले काठमाडौँ र त्रिभुवन विश्वविद्यालयमा पढ्दै गरेका विद्यार्थी सामेल गराएर मूर्ति तयार गरिरहेको छ । उनीहरुलाई ताराप्रसाद ओझाले प्रशिक्षण दिइरहनुभएको छ । कलाकारले सन्देशमूलक मूर्ति बनाइरहेका छन् । चित्रकलाभन्दा शारीरिक र मानसिकरुपमै बढी परिश्रम पर्ने काष्ठकला ठोसरुपमा अनुभूत गर्न सकिन्छ । काम गर्दा श्रमसँगको सम्बन्धले प्रेम बढी हुने हुन्छ तर बजारको भने समस्या रहेको मूर्तिकला विभाग प्रमुख लामाले बताउनुभयो । 

नेपाली मूर्तिकलालाई विश्व प्रतिस्पर्धी बनाउन र कला तिखार्न सिर्जनात्मक काष्ठ मूर्तिकला प्रशिक्षण कार्यशाला आयोजना गरिएको बताउँदै उहाँले छानिएका काष्ठ मूर्तिकलाको राष्ट्रिय प्रदर्शनी गरिने जानकारी दिनुभयो ।

रासस