पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रुपन्देही चयालेन्जर्स डी पी एल को शीर्ष स्थानमा

धनगढी । लगातार दोस्रो जित संगै रुपन्देही चयालेन्जर्स धनगढी प्रिमियर लिग डि पि एल को अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो खेलमा विराटनगर किङ्गसलाई ५ विकेटले पराजित गर्दै ४ अङ्क बटुलेर रुपन्देही चयालेन्जर्स शीर्ष स्थानमा उक्लिएको थियो ।

विराटनगर किङ्गसले दिएको ९४ रनको सामान्य लक्ष्य रुपन्देही च्यालेन्जर्सले ५ विकेटको क्षतिमा मात्र १३.१ ओभरमा भेट्टाएको थियो ।

बलिङ्गमा सर्वाधिक ३ विकेट र ब्याटिङ्ग गर्दा पनि सर्वाधिक ४६ रनको योगदान गरेका रुपन्देही च्यालेन्जर्सका पुनित मेहेरा यस खेलको प्लेएर अफ दि म्याच घोषित भए ।

त्यसअघि, फाप्ला मैदानमा भएको पहिलो खेलमा सी वाई सी अत्तरीयाले धनगढी स्टार्सलाई ५ रनले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको सी वाई सी अत्तरीयाले २० ओभरमा ५ विकेटको क्षतिमा मात्र ९५ रन बनाएको थियो ।

सी वाई सी का लागि शन्नि पटेलले अविजित रहेर सर्वाधिक ३५ रनको योगदान गरेका थिए ।

९६ रनको विजयी लक्ष्य पच्छाउने क्रममा धनगढी स्टार्स २० ओभरमा ९ विकेटको क्षतिमा मात्र ९० मात्र बनाउन सक्यो ।

सी वाई सी का भुवन कार्कीले ४ ओभरमा सर्वाधिक ४ विकेट लिँदै मात्र १० रन खर्चेका थिए ।

सी वाई सी का लागि सर्वाधिक रन बनाउने शन्नि पटेल यस खेलको प्लेएर अफ दि म्याच घोषित भए ।

बुधबारको पहिलो खेल काठमाडौँ गोल्डेन्स र महेन्द्र नगर युनाईटेड तथा दोस्रो खेल बिराटनगर किङ्गस र धनगढी स्टार्सकाबिच हुनेछ ।
परेश सापकोटा, रेडियो नेपाल