पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रहरीमा सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न निर्देशन

प्रधानमन्त्री के.पी. शर्मा ओलीले नेपाल प्रहरीमा सरुवा बढुवामा कुनै गुनासो नआउने गरी काम गर्न जिम्मेवार प्रहरी अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाल प्रहरीको तालिम केन्द्र, महाराजगञ्जमा आज आयोजित १ सय ७८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रहरीको कार्यसम्पादन मूल्याँकन र बढुवाका लागि न्यायोचित प्रणाली अपनाउन निर्देशन दिनुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकको विकास एवं समृद्धिका लागि शान्ति र सुशासन कायम गराउने कार्यमा नेपाल प्रहरीको इमानदार भूमिका आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई व्यवसायिक, सबल र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सरकारले आवश्यक श्रोत साधन उपलब्ध गराउने जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रतिष्ठानलाई ठाउँ साँघुरो भएकाले सबै क्रियाकलाप एकै ठाउँमा गर्ने गरी फराकिलो स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको स्पष्ट गर्नुभयो ।
समारोहमा गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षा कायम गर्ने गहन जिम्मेवारी प्रहरीको भएकाले पेशागत निष्ठा र सेवाग्राहीले अनुभव गर्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिनुभयो ।गृहमन्त्री थापाले गलत मनशायले निर्दाेषलाई अपराधी घोषित गर्ने प्रवृत्तिबाट सचेत हुन र देशलाई विखण्डनतर्फ लैजाने समूहका गतिविधिमा चनाखो बन्न समेत प्रहरीलाई निर्देशन दिनुभयो ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दीक्षित प्रहरीलाई सिकेका सीपलाई कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर प्रयोग गर्न निर्देशन दिनुभयो ।
प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातले यसपटक १९ महिनाको तालीम पूरा गरी १२ महिलासहित ९५ प्रहरी निरीक्षक दीक्षित भएको जानकारी दिनुभयो ।
रोमा रायमाझी, रेडियो नेपाल