पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपमहानगरवासीकै घरमा दूषित पानी

बाँके । वर्षेनी घर निर्माण गर्ने क्रम बढ्दो छ । जनघनत्व उस्तै बढिरहेको छ । सबै टोलमा पूर्वाधार बनिरहेका छन् । नेपालगञ्ज उपमहानगरपालिका महानगर बनाउन महत्वाकांक्षी योजनाका साथ अघि बढिरहेको छ । नेपालगञ्जवासीले शुद्ध खानेपानी पिउन भूमिगत स्रोतकै भर पर्नुपर्ने बाध्यता छ । 

आर्थिक अवस्था राम्रो हुनेले महङ्गा फिल्टर मेसिन, जार तथा बोतलको पानी पिउने गरेका छन् । न्यून आय भएका नागरिक भने ह्याण्डपम्प र कुवाको पानी पिउन बाध्य छन् । नेपालगञ्जको बढ्दो बस्ती विकास र जनघनत्वअनुसार खानेपानी संस्थानले सबै टोल र बस्तीमा शुद्ध पिउने पानी पु¥याउन सकिरहेको छैन । 

विसं २०६८ को जनगणनाअनुसार नेपालगञ्जको जनसङ्ख्या एक लाख ३८ हजार ९५१ रहेको छ । खानेपानी संस्थानको तथ्याङ्कअनुसार हालसम्म नेपालगञ्ज उपमहानगरपालिकाभित्र पाँच हजार उपभोक्ताले मात्रै खानेपानी संस्थानको धारा जडान गरेका छन् । दशकअघि जडान गरिएका धारा बिग्रिएर, चुहिएर र बिल भुक्तानी नगरेर धेरैजसो धारा बन्द छन् । “नेपालगञ्जमा खानेपानी संस्थानले सोचेअनुरुप सेवा दिन सकिरहेको छैन”, स्थानीयवासी माया लामिछाने भन्नुहुन्छ, “खानेपानीका पाइपलाइन दशकअघि जहाँसम्म थिए, अहिले पनि त्यही अवस्थामा छन् । वर्षैपिच्छे अन्य पूर्वाधार विस्तार भइरहेको छ तर नागरिकका घरघरमा शुद्ध पिउने पानीका धारा विस्तार हुनसकेको छैन ।” नागरिकको स्वास्थ्यप्रति खानेपानी संस्थान संवेदनशील नभएको उहाँको गुनासो छ । 

नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदो क्षेत्रमा जनघनत्वअनुसार खानेपानी संस्थानले आफ्नो सेवा विस्तार नगर्दा उपभोक्ता दूषित एवं महङ्गो मूल्य तिरेर पानी पिउन बाध्य भएको लामिछानेको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले यहाँ घर बनाएर बस्न थालेको दुई वर्ष भइसक्यो, अहिलेसम्म ह्याण्डपम्पकै पानी पिउने गरेका छौँ, खानेपानी संस्थानले कहिलेसम्म पानी वितरण गर्ने हो, अत्तोपत्तो छैन ।” 

संस्थानले सेवा विस्तारका लागि कारकाँदोस्थित भगवती टोलमा गत वर्ष चार लाख २५ हजार लिटर क्षमता रहेको ट्याङ्की निर्माण गरेको छ । ट्याङ्कीबाट अहिलेसम्म पानी वितरण गर्न नसकेको वडा नं १८ का वडासदस्य दीपक ढुङ्गाना बताउनुहुन्छ । “खानेपानीको पूर्वाधार बनाउन संस्थानले अझै जग्गा खोजिरहेको रहेछ”, उहाँले भन्नुभयो । संस्थानले सेवा विस्तार नगर्दा कारकाँदोका बासिन्दा केहीले हैण्डपम्पको दूषित पानी र कतिपयले ह्याण्डपम्पकै पानी शुद्धीकरण गरेर पिउने गरेका छन् । कारकाँदो क्षेत्रमा अत्यधिक रुपमा जनघनत्व बढेका कारण खानेपानी संस्थानले सेवा विस्तारमा तदारुकता देखाउनुपर्ने उहाँको सुझाव छ । 

कारकाँदोजस्तै पछिल्लो समयमा नेपालगञ्जमा विस्तार भएका धेरैजसो बस्तीमा खानेपानी उपलब्ध हुन सकेको छैन । नेपालगञ्जको तेजनगर, बसपार्क, सुर्जीगाउँ, जिल्ला प्रहरी कार्यालयको दक्षिणक्षेत्र, कोरियनपुर, भृकुटीनगर, बाँकेगाउँ, गोसाइँगाउँ, आर्दशनगर, बेलासपुर, फुलटेक्रा, रामनगर, लग्दहवा, भुजइगाउँलगायत स्थानमा जनघनत्व ह्वात्तै बढेको छ । ती बस्तीमा खानेपानी संस्थानले अहिलेसम्म धारा जडान गर्न सकेको छैन । नेपालगञ्जका नयाँ बस्तीमा संस्थानको ‘शुद्ध पानी’ नपुग्दा उपभोक्ता दूषित पानी पिउन बाध्य छन् । 

सरकारले ‘एक घर, एक धारा’को नीति अगाडि सारे पनि नेपालगञ्जवासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता छ । भृकुटीनगरका रमेश अधिकारी संस्थानले पानी वितरण गर्न नसकेको गुनासो गर्नुहुन्छ । “संस्थानले अहिलेसम्म पानी वितरण गर्न कुनै सुरसार गरेको छैन”, उहाँले भन्नुभयो, “टोलका सबैले हैण्डपम्पकै पानी पिउने गरेका छन् ।” 

संस्थानले अहिलेसम्म करीब चार दशक पुरानो पानी ट्याङ्कीमार्फत नेपालगञ्जमा पानी वितरण गर्दै आएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२ मा संस्थानको साढे चार लाख लिटर क्षमताको ट्याङ्कीबाट हालसम्म खानेपानी वितरण गरिँदै आएको खानेपानी संस्थान शाखा कार्यालय नेपालगञ्जका प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी बुद्धिप्रकाश केसीले बताउनुभयो । उहाँका अनुसार संस्थानले उक्त ट्याङ्कीमा नगरका विभिन्न तीन स्थानमा गाडेको डिपट्युबेलबाट दैनिक ३० लाख लिटर पानी तानेर झण्डै पाँच हजार उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । । “कारकाँदोमा एउटा ओभरहेड ट्याङ्की निर्माण भइसकेको छ, यस वर्ष दुई डिपबोरिङ पनि सञ्चालन गरिँदै छ ”, उहाँले भन्नुभयो । नेपालगञ्ज उपमहानगरका नयाँ बस्तीमा संस्थानले चाहेर पनि खानेपानीको पाइप पु¥याउन नसकेको उहाँको भनाइ छ । 

“नयाँ बस्तीमा पानीको माग धेरै छ, पाइप विस्तार गर्न संस्थानसँग बजेट छैन”, उहाँले भन्नुुभयो, “कारकाँदोमा स्थापना गरिएको ट्याङ्की सञ्चालनमा आएपछि उपभोक्ताको मागअनुसार पानी वितरण गर्न सहज हुनेछ ।” संस्थानले उपलब्ध गराउने पानी शुद्ध भए पनि कतिपय ठाउँमा उपभोक्ताले पाइप जोड्ने ठाउँमा लिकेज हुँदा त्यहाँबाट किटाणु पस्ने सम्भावना रहेको केसीको भनाइ छ । केही वर्षअघि संस्थानकै पानीमा ‘कोलिफम’ जीवाणु फेला परेको थियो । 
-रासस