पुलिस क्लब बुढा सुब्बा गोल्डकपको सेमिफाइनलमा
धरान । पोखराको साहारा क्लबलाई सडन डेथमा ४–३ ले पराजित गर्दै नेपाल पुलिस क्लब बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । सोमबार धरान रंगशालामा भएको खेलको ३३ औं मिनेटमा पुलिसले अग्रता लिएको थियो ।
रवी पासवानले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई निरकुमार राईले गोलमा परिणत गर्दै पुलिसलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ८४ औं मिनेटमा साहाराले बराबरी गोल फर्कायो । पुलिसका अजित भण्डारीले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा विश्व अधिकारीले गोल गरे ।
टाइब्रेकरमा दुवै टोलीले २–२ प्रहार चुकाउँदा सडन डेथमा पुलिसले जित हासिल गरेको हो । खेलमा पुलिसलाई अग्रता दिलाएका मिडफिल्डर निरकुमार राई म्यान अफ द म्याच भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।
अजय बम, रेडियो नेपाल