पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको शिलान्यास

radionepal

भुवनप्रसाद आचार्य, काठमाण्डौं । माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको आइतवार नुवाकोटको किस्पाङ गाउँपालिकाको पैरेबेँसीमा शिलान्यास भएको छ ।  

आयोजनाको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शिलान्यास गर्नुभयो ।  नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको मुख्य लगानीमा निर्माण हुन लागेको सो आयोजना ३७ मेगावाट क्षमताको रहेको छ ।

कार्यक्रममा मन्त्री पुनले आयोजना तोकिएकै समय २०७७ फागुनमा निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै जलविद्युत्मा आत्मनिर्भर भएमा देशले भोगिरहेको व्यापार घाटासमेत घट्ने र सरकारले लिएको दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्यलाई हासिल गर्न समेत सहयोग पुग्ने बताउनुभयो । 

कार्यक्रममा ऊर्जा सचिव दिनेश घिमिरेले आयोजनालाई समयमा नै सम्पन्न गराउन स्थानीयवासीको सहकार्य र भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका अध्यक्ष कुलमान घिसिङले माथिल्लो त्रिशूली थ्री बी निर्धारित समयभन्दा अगाडि नै निर्माण गर्न सकिएमा मुलुकभर भरपर्दो र नियमित विद्युत् आपूर्तिमा ठूलो योगदान पुग्ने बताउनुभयो । 

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०÷३० प्रतिशत शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहनेछ । 

आयोजनाको अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रहेको छ । आयोजनामा नविल बैंकको अगुवाइमा सह–वित्तीयकरणमार्फत ऋण लगानी हुनेछ ।