पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

श्रीपञ्चमी (वसन्तपञ्चमी) देशभर मनाइँदै

काठमाण्डौँ । आज माघ शुक्ल पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी श्रीपञ्चमी देशभर मनाइएको छ । 

सूर्य उत्तरतिर लागि दिन लामो हुने र बसन्त ऋतुको प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । 

आजका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने धार्मिक विश्वास अनुसार देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको थियो । 

बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । देशभरका बिभिन्न विद्यालयहरुमा आज विभिन्न कार्यक्रमहरु गरी श्रीपञ्चमी मनाईयो । 

सरस्वतीलाई विद्या र सिर्जनाकी देवी मान्दै शिक्षक, विद्यार्थी, साहित्यकार, कलाकार, पत्रकारलगायतले, आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्ने गर्दछन् ।

यसैविच, आजै वसन्त पञ्चमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त श्रवण गर्नु भयो । 

हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने चलन अनुसार आज बिहान ८ बजेर २४ मिनेटको साइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गर्नुभएको हो ।